१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असई र जवानको हत्या आरोपी ७ जना सार्वजनिक


0
Shares

कैलाली, कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का पंकु भनिने रोहित राना, राजेन्द्र राना, चोर भनिने सुरेश राना, गब्बर भनिने राजकुमार राना, त्यसैगरी रामनिवास राना, टल्लु भनिने दलराम राना र गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

नेपालबाट भारतमा केराउ तस्कर गर्न रोक्न खोज्दा उनीहरुले हत्या गरेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिनुभएको छ ।

गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका विक र प्रहरी जवान बेपत्ता भएका थिए ।

उनीहरूलाई राति १० बजे सम्पर्क गर्दा फोन नलागेको र बिहानसम्म पनि नफर्किएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा भेटिएको थियो ।

घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा विक भेटिएकै मोहना नदी क्षेत्रमा मङ्गलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो ।

प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।