
काठमाडौं, कात्तिक ५ । सरकारले २० लाख थान इ–पासपोर्ट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई दिने भएको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले २० लाख थान इ–पासपोर्ट छपाईको जिम्मा फान्सेली कम्पनी आइडीइएमआइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएसलाई दिन लागेको हो ।
विभागले तेस्रो पटक गरेको टेन्डरमा सबैभन्दा कम रकममा काम गर्न तयार फ्रान्सेली कम्पनी एसएएसलाईलाई दिन बुधबार लेटर अफ इन्टेन्ट जारी गरेको हो ।

छुटसहित २ करोड ११ लाख डलरमा २० लाख थान इ–पासपोर्ट छाप्न एसएएससँग सम्झौता गर्न लागेको विभागले जनाएको छ । कम्पनीले १३ महिनाभित्र २० लाख पासपोर्ट छापेर बुझाइसक्नुपर्नेछ । पासपोर्ट छपाइका लागि तेस्रो पटक असोज ८ मा टेण्डर गरेको थियो ।
यसअघि विभागले फागुन १९ गते गरेको टेण्डर अन्तिममा रद्द गरिएको थियो भने फेरि असोज ५ मा दोस्रो पटक टेण्डर रद्द गरिएको थियो ।
विभागले पहिलो पटक भने २०७६ भदौमा ई–पासपोर्ट छपाइका लागि ग्लोबल टेण्डरको सूचना प्रकाशन गरेको थियो ।
१९ वटा कम्पनीले सहभागिता जनाएको उक्त टेण्डर, प्रस्ताव खोल्नु केही घन्टाअघि २०७६ कार्तिक २१ मा विभागले प्रक्रिया नै रद्द गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्