१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सोलुखुम्बुमा समुदाय स्तरमा कोरोना


0
Shares

सोलुखुम्बु, कात्तिक ५ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको सङ्क्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेकोे छ ।

मङगलबार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको पुष्टि गरेको हो ।

सङ्क्रमणको अवस्था बुझ्न नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित स्वाब परीक्षणको रिपोर्टअनुसार समुदायस्तरमा कोरोना फैलिसकेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।

चाडपर्वका बेला चुनौती थपिएकाले परीक्षणको दायारालाई फराकिलो बनाइने उहाँकोे भनाइ थियो ।

नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरका अनुसार शुक्रबार ६४ जनाको स्वाब सङ्कलन गरी बिराटनगरमा परीक्षण गर्न पठाउदा एक वडाध्यक्ष, एक वडासचिव, एक स्वास्थ्यकर्मी, एक व्यावसायी र हाइड्रोपावरमा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।

सङ्क्रमितमध्ये एक सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ भने अन्यलाई होम आइसोलेशनमा राख्ने तयारी गरिएको छ ।

उनीहरू फरक फरक स्थानका रहेका र उनीहरूको अन्यत्र सम्पर्क भए नभएको बारे थाहा नभएको उहाँले जानकारी दिनुभयो ।

यस्तै जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहनुभएका १८ बर्षीय एक पुरुषको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यस्तै तल्लो सोलु खोला जलविद्युत आयोजना ८२ मेगावाटका २१७ मजदूरको पिसिआर परीक्षण गर्दा सात जनामा कोरोना पोजेटिभ आएको आयोजनाले जनाएको छ ।

रुम्जाटारस्थित ओखलढुङ्गा जिल्ला अस्पतालको समन्वयमा स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाउँदा एक स्थानीय र छ भारतीयमूलका मजदूरमा कोरोना पुष्टि भएको बताइएको थियो ।

उनीहरूलाई होटल आइसोलेशनका लागि काठमाण्डाँैमा पठाइएको आयोजनाले जनाएको छ । रासस