१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली अस्पतालमा पीसीआर मेसिन


0
Shares

काठमाडौं, कात्तिक ५ । महाकाली अस्पतालमा कोरोना परीक्षणका लागि ल्याइएको पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले कात्तिक मसान्तभित्रै अस्पतालको कोषमा रकम जम्मा गरी पिसीआर मेसिन जडान गर्नका लागि सहयोग गर्ने भएका हुन् ।

सङ्घीय सांसदले २० लाखका दरले, सुदूरपश्चिम प्रदेशसभा सदस्यले १० लाख, नगरपालिकाले १५ लाख र गाउँपालिकाले १० लाखका दरले रकम सहयोग गर्ने प्रतिबद्धता गरेको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो ।

अस्पतालमा प्रयोगशाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गरी तीन महिनाअघि नै उक्त अस्पताललाई हस्तान्तरण गरेको हो ।

नगरपालिकाले रु ३८ लाखमा मेसिन खरिद गरेको हो । जडान खर्चको अभाव हुँदा मेसिन सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमा प्रयोगशाला निर्माणसहितका जनशक्ति व्यवस्थापन कार्य अगाडि बढेका छन् ।

भीमदत्त नगरपालिकाले जिल्ला समन्वय समिति, महाकाली अस्पतालबीच जिम्मेवारी बाँडफाँडसहितको सहमति भएर पिसीआर मेसिन सञ्चालनको कार्य अगाडि बढाइएको हो ।

जिल्ला समन्वय समितिको बैठकले पिसीआर मेसिन सञ्चालनका लागि चाहिने थप उपकरण खरिद गर्ने निर्णयसमेत गरेको छ ।

तीनवटै तहका जनप्रतिनिधिले गरेको प्रतिबद्धताअनुसार मेसिन सञ्चालनका लागि रु. एक करोड २५ लाख रकम कोषमा सङ्कलन हुन लागेको छ ।

सङ्घ र प्रदेशका सांसदले पूर्वाधार साझेदारी विकास कार्यक्रमबाट सहयोग गर्न लागेका हुन् ।