१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीमा मुख्यमन्त्री खुस्काउन खोज्दा काठमाडौंमा केपीको पद धरापमा ! कसियो दाहाल–नेपाल गठबन्धन


0
Shares

kp prachand

काठमाडौं, ५ कात्तिक । जनताको दुःख, पीडा र आँशुभन्दा फगत आफ्नो सत्ता, शक्ति र सम्पत्तिका लागि लडाईं गरिरहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को रडाको मच्चिएको छ ।

आफ्नो कार्यशैलीका कारण वर्षदिन यता धरापमा परेको प्रधानमन्त्री र अध्यक्ष पद एक महिनाअघि मात्र बल्लबल्ल जोगाएका प्रधानमन्त्री केपी ओली कर्णालीकाण्ड पछि फेरि सकसमा पर्नुभएको छ ।

कर्णालीमा प्रदेशमा आफ्ना निकटहरुलाई उचालेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा पार्न लगाए पनि अन्ततः उहाँको योजना तूहिएको हो ।

बरु उल्टै पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालबीचको गाँठो कस्सिएको छ । ओलीको दिग्विजय रोक्नु जरुरी भएको भन्दै दाहाल–नेपालबीच सहमति बनेको छ । योसँगै काठमाडौंमा ओली सत्ता नै धरापमा पर्न सक्ने आंकलन गरिएको छ ।

खुस्किसकेको पद जोगाउँदै शाही सुर्खेत फर्किनुभएको छ भने जनतालाई कोरोनाको कहरमा धकेलेर मुख्यमन्त्री बन्ने सपना साँच्नुभएका यामलाल कँडेल हिस्स परेर फर्कन बाध्य हुनुभएको छ ।

कँडेलको शब्दजालमा फसेर हुँदाखाँदाको पद गुमाउनेमा प्रमुखसचेतक गुलाबजंग शाहले पद नै गुमाउनुभएको छ भने सीता नेपालीको प्रमोशन स्वीकृत भएको छ ।

प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट खुस्काउन खोजेको प्रतिशोध कर्णालीमा दाहाल पक्षीय पूर्वमाओवादी कोटाको मुख्यमन्त्रीबाट शाहीलाई खुस्काएर देखाउने योजना बुन्नुभएका प्रधानमन्त्री ओली यस पटक पनि नराम्ररी हिस्स हुनुभएको छ ।

कर्णाली सकसले कोटेश्वर (नेपाल) र खुमलटार (दाहाल) बीचको राजनीतिक गाँठो कसिलो बनाएको छ भने त्यसमा भैसेपाटी (वामदेव गौतम) पनि जोडिन आइपुगेको छ । नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ यसै पनि यही गठबन्धनमा छँदैछन् ।

दाहाल–नेपालबीच ओलीविरुद्ध एकजुट भएर अगाडी बढ्ने र कर्णाली सकस निम्ट्यारा लगाइसकेपछि सिंहदरबार सत्ताबाट ओलीलाई गलहत्याउने रणनीति बुनिएको खुमलटार स्रोतले जनाएको छ ।

यसबीचमा दाहाल–नेपालले संवाद बढाएका छन् भने नेपाललाई फकाउन ओलीले गरेको प्रयास भने नाकामसिद्ध भएको छ । प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटारमै बोलाएर सम्बन्ध बढाउन गरेको प्रयास नेपालले अब लोतोपोतोमा नमिल्ने जवाफ दिएपछि विफल भएको हो ।

स्रोतका अनुसार नेपाललाई प्रधानमन्त्री बनाउने गरी ओली इतरका नेताहरु एकजुट भएका हुन् । कर्णाली कू को प्रत्याक्रमण प्रधानमन्त्री पद नै गुमाउनुपर्ने सम्मको अवस्था आउने हो वा होइन भन्नचाहिँ नेकपाभित्र पाक्ने आगामी खिंचडीले नै देखाउने छ ।