२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


सुदूरपश्चिममा स्वरोजगारका लागि ७८ हजार युवाको आवेदन


0
Shares

काठमाडौं, कात्तिक ६ । सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन दिएका छन् ।

कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो ।

प्रदेशका नौ वटै जिल्लाका ७८ हजार युवाले आयमूलक व्यवसायमा लाग्ने भन्दै आवेदन दिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. हेमराज अवस्थीका अनुसार पशुपक्षी विकासतर्फ ७० हजार र कृषितर्फ आठ हजारको आवेदन परेको छ ।

कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मौरीपालन, भेडाबाख्रापालन, बङ्गुरपालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पशुपालन लागि सबैभन्दा बढी आवेदन परेको छ ।

कृषि मन्त्रालयले २१ दिने समय दिएर सुदूरपश्चिमका ८८ वटै स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवेदन सङ्कलन गरेको थियो ।

कृषि उत्पादकत्व वृद्धि गर्ने र कोरोना प्रभावित तथा विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ ल्याइएको यस कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले मापदण्डसमेत बनाएको छ ।

प्राप्त निवेदनका आधारमा ज्ञान केन्द्र र विज्ञ केन्द्रलाई अख्तियारी दिइसकिएको छ, तीमध्ये सातदेखि आठ हजार छनोटमा पर्ने प्रवक्ता डा अवस्थीले जानकारी दिनुभयो ।

उहाँले कृषितर्फ ३० देखि ३५ हजार र पशुपक्षीतर्फ रु ४५ देखि ५० हजार रकम प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

त्यसका लागि मन्त्रालयले १५ करोड बजेट विनियोजन गरेको छ ।

सुदूरपश्चिममा भारतबाट मात्रै गत चैतयता डेढ लाखभन्दा बढी स्वदेश फर्किएका छन् ।