२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


संक्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह


0
Shares

काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गर्नुभएको छ ।

सभापति देउवाले बिहीबार एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिनुभएको छ ।

उहाँले कोरोना (कोभिड–१९) को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गर्नुभएको छ ।

“आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ ।

उहाँले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

साथै सक्रिय सङ्क्रमितको शीघ्र स्वास्थलाभको कामनासमेत गर्नुभएको छ ।