
काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग गरेको भेटका कारण राष्ट्रिय सुरक्षमा नै चुनौती आएको बताउनुभएको छ ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लामो वक्तव्य नै सार्वजनिक गर्दै नेता थापाले प्रधानमन्त्री ओलीको भारतीय गुप्तचरसँगको भेटघाटलाई सामान्य कूटनीतिक मर्यादाको उल्लंघनका रुपमा मात्र लिन नहुने जिकीर गर्नुभएको हो ।
सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग गरिएको भेटघाटबाट राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको भन्दै थापाले अनुसन्धान गर्न माग गर्नुभएको हो ।
थापाले लेख्नुभएको छ, ‘प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ । सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ । यसको अनुसन्धान हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीको विशेष आमन्त्रणमा केही घण्टाका लागि बुधबार दिउँसो काठमाडौं आउनु भएका भारतीय गुप्तचरी संस्था रअ का प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री ओलीसँग बुधबार राती दुई घण्टा गोप्य मन्त्रणा गरी बिहीबार भारत फर्किसक्नुभएको छ ।
प्रधानमन्त्री ओली र गोयलको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ भने सुरक्षा निकायले पनि आगमनबारे आधिकारिक जानकारी नरहेको जनाएको छ ।
गोयलले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव नेपालसँग पनि भेट गरेको चर्चा चलाइए पनि तीनै जना नेताले आफूहरुले गोयलसँग भेट नगरेको भन्दै प्रष्टीकरण दिइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्