
काठमाडौं, कात्तिक ९ । कोरोना भाइरसका कारण यस वर्षको दशैं नराम्ररी प्रभावित बनेको छ । जसको असर शक्तिपीठहरुमा पनि परेको छ ।
यसवर्ष देशभरका हिन्दू शक्तिपीठहरु बन्द नै रहे । यसैक्रममा वर्षमा एक दिन आश्विन शुक्ल नवमीका दिनमा मात्र खुल्ने काठमाडौं हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर पनि खुलेन ।
घटस्थापनाका दिन राखिएको जमरासहित पूजाआजाका लागि महानवमीका दिनमा एक दिन मात्र सर्वसाधारणका लागि खुल्ने इष्टदेवी तलेजु भवानीको दैलो कोरोना भाइरसको त्रासकै कारण नखुलेको हो ।
कोरोना सक्रमणको त्रासका कारण तलेजु भवानीको मन्दिर नखुले पनि तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिएको छ ।
वर्षमा एक दिन आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने भएकाले वर्षेनी यस मन्दिरको दर्शमा पुग्नेहरुको ठूलो भीड लाग्ने गर्दथ्यो ।
तलेजु भवानीको दर्शनका लागि काठमाडौं उपत्यकाको तीन जिल्लाका अतिरिक्त उपत्यका नजिकका जिल्लाहरुबाट पनि दर्शनार्थीहरु आउने गर्दथे ।
तलेजु भवानीलाई पुज्ने परम्परा काठमाडौँ उपत्यकालगायत अरु ठाउँमा पनि पाइन्छ । चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले मुसलमानको आक्रमणबाट बचाएर ल्याई तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ ।
यही तुलजाको अपभ्रंश भई तलेजु नाम रहन गएको हो । भक्तपुरपछि क्रमशः काठमाडौँ, पाटन र कीर्तिपुरका प्राचीन राजदरबारभित्र तलेजुका मन्दिर छन् । मल्लकालीन समयका राजाहरूले तुलजा भवानीलाई इष्टदेवी मान्ने गर्दथे । त्यही परम्परालाई वर्तमानसम्म पनि निरन्तरता दिइँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्