२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्षलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा दिने


0
Shares

indian army chief mm narwane visit nepal

काठमाडौं, कात्तिक ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई यहि कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुहुने भएको छ ।

कात्तिक १९ गते तीन दिने भ्रमणमा नेपाल आउने नरवणे २१ गतेसम्म काठमाडौं रहने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको हो ।

नेपाली सेनाले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार कात्तिक २० गते नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिन लागिएको हो ।

कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।

तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नुहुनेछ ।

सेनाध्यक्ष नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते भने प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाल र भारतका सेनाध्यक्षले एकअर्काको देशका महारथी ग्रहण गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा नेपाल र भारतबीचको सीमा विवाद र सुरक्षा चुनौतीका बिषय छलफल हुने जनाइएको छ ।

भारतले नेपाली भूमि कालापानीमा सडक मार्ग उद्घाटन गरेपछि भएको विरोधलाई सेनाध्यक्ष नरवणेले चीनको उक्साहटमा काठमाडौंमा प्रदर्शन भइरहेको भन्ने विवादास्पद अभिव्यक्ति दिएकामा नेपालमा उहाँको विरोध भएको थियो ।

आफ्नो अभिव्यक्ति नसच्याउँदै नेपाल सरकारले भने नरवणेलाई मानार्थ महारथीको दर्जाबाट सम्मान गर्न लागेको हो ।

नरवणेको नेपाल भ्रमण गत बर्षको माघ २० गते तय भएकोमा कोराना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।