
एजेन्सी, कात्तिक ११ । भारत र अमेरिकाले निकै महत्वपूर्ण मानिएको रक्षा सम्झौता गरेका छन् । दुई देशका उच्च अधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
निकै रणनीतिक मानिएको सम्झौतामा हस्ताक्षर गरेलगत्तै भारत भ्रमणमा आएका अमेरिकी विदेश मन्त्री माइक पम्पिओले अमेरिका चीनविरुद्ध भारतको पक्षमा एकसाथ खडा रहेकोमा सचेत गराउनुभएको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि पम्पिओले अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा रहेको बताउनुभएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार विदेशमन्त्री पोम्पिओले भन्नुभयो, ‘म संसारको सबैभन्दा ठूला लोकतन्त्रका लागि आफ्नो ज्यान दिने सैनिकलाई श्रद्धाञ्जली दिन नेशनल वार मेमोरियल पुगेँ । जसमा पीएलए (चिनियाँ सेना)सँगको झडपमा ज्यान गुमाएका २० जना सेना पनि छन् । भारतको अखण्डता र स्वतन्त्रताको लडाईमा अमेरिका उसको साथमा छ।’
लद्दाख घटनापछि भारत र चीनबीच लगातार तनाव बढेका बेला एशिया भ्रमणका क्रममा भारत आएको अमेरिकी उच्च अधिकारी र भारतीय अधिकारीबीच रक्षा सम्बन्धी संवेदनशील स्याटलाइट तस्वीर, नक्शालगायतका सूचना एकापसमा आदान प्रदान गर्न सहमति भएको हो ।

दुई देशबीचमा मंगलबार भएको टु प्लस टु बैठकपछि गरिएको बेका सम्झौताअनुसार अब भारतले अमेरिकाले जम्मा पारेका सूचनामा पहुँच पाउने छ । जसबाट मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने बताइएको छ ।
टु प्लस टु बैठक दुई देशका विदेशमन्त्रीका साथै रक्षामन्त्रीसमेत सम्मिलित भएर गरिएको हो । यो बैठकका लागि सोमबार अमेरिकी विदेशमन्त्री पम्पियो र रक्षामन्त्री मार्क एस्पर भारत भ्रमणमा आउनुभएको थियो ।
भारतबाट भने विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंहले वार्ताको नेतृत्व गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्