२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुमा बढ्यो पर्यटकको चहलपहल


0
Shares

सोलुखुम्बु, कात्तिक १३ । आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रने पर्यटकको संख्या बाक्लिन थालेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट बन्द आन्तरिक उडान असोज ५ गतेबाट सुचारु भएपछि पर्यटकहरु खुम्बु क्षेत्र भित्रन थालेका हुन् ।

जोरसल्ले चेकपोष्टको तथ्याङ्कअनुसार असोज महिनामा १७१ जना पर्यटक खुम्बु भित्रिएका छन् ।

जसमा १४६ नेपाली र २५ जना विदेशी पर्यटक छन् ।

कात्तिक महिनाको १३ गते बिहिबारसम्म ६० जना विदेशी र १६२ जना नेपाली पर्यटकले खुम्बु क्षेत्र प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।

हिमाली पर्यटकीय क्षेत्रमा ख्याती कमाएको यस क्षेत्रमा असोज र कात्तिक महिनामा मात्र ३९३ जना नेपाली र विदेशी पर्यटकहरु खुम्बु भित्रिएका छन् ।

चेक पोष्टको तथ्याङ्कअनुसार विदेशी पर्यटकको तुलनामा खुम्बु प्रवेश गर्ने नेपाली पर्यटकको संख्या बढी देखिन्छ ।

आन्तरिक हवाई उडान सुरु भएपछि बाह्य पर्यटक समेत खुम्बु भ्रमणमा आउन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताउनुभयो ।

खुम्बु भ्रमणका लागि पुग्ने नेपाली तथा विदेशी पर्यटकको खाना र आवास व्यवस्थापनका लागि कोरोना कहरका बीचमा पनि सेवा प्रवाह जारी राख्ने गरी होटल सञ्चालकलाई अभिमूखिकरण गर्ने तयारी गरिएको छ ।