७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सरकारले धानको न्यूनतम मूल्य तोकेपनि किसानहरु सस्तोमा बिक्री गर्न बाध्य


0
Shares

काठमाडौं, कात्तिक १३ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी गर्न ढिलाई गर्दा किसानहरु सस्तो मूल्यमा धान विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् ।

सरकारले न्यूनतम समर्थन मूल्यमा सहकारी मार्फत धान खरिद गर्ने व्यवस्था गरेको छ ।

बिहीबार मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सरकारको कमजोरीका कारण किसानहरु सँधै मारमा परेको बताएका हुन् ।

राष्ट्रिय कृषक समूह महासंघका उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले सरकारले असार महिनामै धानको न्यूनतम समर्थम मूल्य तोकेको भएपनि व्यापारीहरुबाट किसानहरु ठगिने क्रम यस वर्ष पनि नरोकिएको बताउनुभयो ।

तीन वटै तहका सरकारी निकायहरु जिम्मेवार नबन्दा समयमै धान खरिद हुन नसकेकोले व्यापारीहरुले फाइदा लिने मौका पाएको बताउनुभयो ।

नेपाल कृषि सहकारी केन्द्रीय महासंघका अध्यक्ष खेम पाठकले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य भन्दा धेरै कम मूल्यमा व्यापारीहरुले किसानबाट धान खरिद गरिसकेको बताउनुभयो ।

अहिले सम्म सहकारीले करिब २० मेट्रिकटन मात्रै धान खरिद गर्न सकेको उहाँले बताउनुभयो ।

सरकारले समयमै निर्देशिका जारी नगर्दा किसानबाट धान खरिद गर्न नसकिएको उहाँको भनाई छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने खाद्य तथा व्यापार कम्पनी मार्फत खरिद गर्दै आएकोमा किसानको पहुँच बढाउन सहकारी मार्फत धान खरिद गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका जोन सुपरजोनमा सूचिकृत सहकारीहरु मार्फत न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने गरी निर्देशिका जारी भइसकेको उहाँले बताउनुभयो ।

किसानबाट धान खरिद गरिसकेपछि सहकारीहरुले १५ दिन भित्रमा धानको मूल्य कृषकको खातामा पठाउने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

किसानबाट धान खरिद गरी स्टोरेज गर्ने देखि बजार सम्म पु¥याउने व्यवस्था गरेबापत सहकारीहरुलाई सरकारले प्रति क्विन्टल १ सय १२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने पनि डा. केसीले बताउनुभयो ।

सरकारले गत असारमा यस आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो ।

मन्त्रालयले सहकारी मार्फत धान खरिद गर्ने व्यवस्था समेत गरेको छ ।

तर धान खरिद गर्नको लागि कात्तिक ४ गते मात्रै मन्त्रिपरिषदबाट ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७’ स्वीकृत भएको छ ।

जसका कारण सहकारी संस्थाहरुले समयमै धान खरिद गर्न सकेनन् ।

असारमा लगाइएको धान मंसिर महिनामा नै पाकिसकेको र पाक्ने वित्तीकै विक्री गर्नुपर्ने बाध्यताका कारण किसानहरुले सस्तो मूल्यमा व्यापारीलाई धान विक्री गर्न बाध्य भएका छन् ।

यस वर्ष देशभर करिब १५ लाख हेक्टरमा धान खेति भएको छ भने करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने आनुमान मन्त्रालयले गरेको छ ।