
परासी, कात्तिक १४ । एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् ।
बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ ।
सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिनुभयो ।
बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए ।
चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताउनुभयो ।
पिता ज्ञवाली अहिले पनि स्वस्थ्य हुनुहुन्छ ।
खेतीपातीमै जीवन बिताउनुभएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उहाँका साहिँला छोरा हरिप्रसादले बताउनुभयो ।
केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा बाबुराम हुनुहुन्छ ।
छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिनुभएको थियो ।
आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।
वि.सं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिनुभएका ज्ञवालीका चार छोरा अहिले पनि हुनुहुन्छ ।
उहाँको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ ।
उहाँका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन् ।
साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठीक १०० वर्षले फरक छ ।
प्रतिक्रिया दिनुहोस्