१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेकू (शुक्रराज) अस्पतालमा धरौटी राखेर मात्र कोरोना संक्रमितको उपचार


0
Shares

प्रज्ञा तिमल्सीना (ईमेज)
काठमाडौं, कात्तिक १६ । सरकारले कोरोना संक्रमितको परीक्षण र उपचार नि:शुल्क नगर्ने जनाए पछि सरकारी, निजी अस्पतालहरुले धमाधम शुल्क असुल गर्न थालेका छन् ।

देशको एक मात्र सरुवारोग अस्पतालले समेत धरौटी रकम विना उपचार नगर्ने सुचना सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कार्तिक २ गते सबै कोरोना संक्रमितको परीक्षण र उपचार निशुल्क नगर्ने निर्णय गर्यो ।

गरिव, असहाय ,जेष्ठ नागरिक, एकल महिला लगाएका व्यक्ति बाहेक अन्य संक्रमितको निशुल्क उपचार नगर्ने मन्त्रालयले निर्णय गरेको थियो ।

जसको सर्वत्र विरोध समेत भयो । विरोध पश्चात स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सर्वसाधारणको चाहना अनुसार नै शुल्क लिने निर्णय गरेको भनेको स्पष्टिकरण समेत दिनुभयो ।

मन्त्रालयको निर्णय पश्चात सरकारी, निजी अस्पतालले धमाधम शुल्क असुल गर्न सुरु गरे ।

निजी अस्पतालले भने मनलाग्दी रुपमा शुल्क असुल गरिरहेका छन् ।

कोरोना संक्रमितको सुरुवाती चरण देखी नै उपचार गरिरहेको देशको एक मात्र सरुवारोग अस्पताले समेत संक्रमितको उपचारमा लाग्ने शुल्क सार्वजनिक गरेको छ ।

यस अघि लक्षण भएका संक्रमितको निशुल्क र लक्षण नभएकाहरु सँग दैनिक रुपमा २ हजार शुल्क लिदै आएको अस्पतालले कार्तिक १४ गते धरौटी रकम सहितको शुल्क सार्वजनिक गरेको हो ।

जसमा जटिल समस्या भई आइसियू र भेन्टिलेटरमा बस्नेहरु सँग दैनिक रुपमा १५ हजार शुल्क लिने र ५० हजार धरौटी राख्नु पर्ने छ ।

आईसियूमा मात्र बस्ने र मध्यम जटिल समस्या भई क्याविन आइसोलेनमा बस्नेले दैनिक ७ हजार ५ सय रकम तिर्नु पर्ने र ३० हजार धरौटी रकम बुझाउनु पर्ने छ ।

यस्तै मध्यम जटिल समस्या भई ग्याष्ट्रो आइसोलेसनमा बस्नेले दैनिक ३ हजार ५ सय शुल्क सहित २० हजार धरौटी बुझाउनु पर्ने छ ।

सरकारले कोरोना संक्रमितको उपचारमा दिदै आएको रकम रोकेका कारण शुल्क उठाउन बाध्य भएको अस्पतालले जनाएको छ ।

यस्तै पाटन र शिक्षण अस्पतालले पनि जटिल समस्या भई आइसियू र भेन्टिलेटरमा बस्ने सँगै दैनिक १५ हजार रुपैयाँ शुल्क लिदै आएका छन् ।

सामान्य समस्या भएकाहरु सँग दैनिक ३ हजार ५ सय देखी ७ हजार ५ सयँ सम्म शुल्क लिदै आएका छन् ।

यस्तै धुलिखेल अस्पतालले पनि जटिल स्वास्थ्य समस्या भएका संक्रमित सँग २ लाख सम्म धरौटी रकम लिने गरेको छ ।

सरकारले संक्रमितको व्यवस्थापन र जटिल स्वास्थ्य समस्या भएका संक्रमितमा उपचारको पहुँच पुर्‍याउन शुल्क असुल गरेको जनाए पनि हाल आफनौ खर्चमा परीक्षण गराउनेको सँंख्या कम छ ।

जसकाकारण दैनिक रुपमा हुने परीक्षण घटेको छ भने संक्रमितको संख्या समेत कम देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका विज्ञ स्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारी संक्रमितको उपचार गर्ने प्रणाली नै परिवर्तन गराउनु पर्ने बताउनुहुन्छ ।

भेन्टिलेटरमा राखिएका संक्रमितलाई चिकित्सकले नहेरी नर्सले मात्र हेर्ने गरेको धेरै गुनासोहरु आउने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

अस्पतालले धमाधम शुल्क असुल गर्ने तर संक्रमितको सहि तरिकाले उपचार नगर्ने हो भने समस्या झन बढ्ने देखिन्छ ।

झन देशको एक मात्र सरुवारोग अस्पताललाई समेत सरकारले वेवास्ता गर्नु अर्को दुखद कुरा बन्न पुगेको छ ।

भिडियो हेर्नुहोस्