
काठमाडौं, कात्तिक १७ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा कब्जा जमाउन संघर्षरत अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्प र जो बाइडेनको भाग्य परीक्षा अबको २४ घण्टामा हुनेछ ।
नोभेम्बर ३ को उज्यालो घामसँगै अमेरिकामा हुने मतदानले रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्प र डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेन कसलाई फेरि ह्वाइट हाउसको कार्यालयमा पुर्याउने छ भन्ने निर्क्यौल गर्नेछ ।
मतदान पूर्वका सर्भेक्षणहरुमा लगातार अग्रता लिइरहनुभएका बाइडेनको मतदानको दिन निकट आउँदा ट्रम्पसँगको दूरी घट्दो देखाएको छ । यसले डेमोक्र्याट कित्तामा चिन्ता थपिँदा रिपब्लिकनहरुमा आशा जगाएको छ ।
खासगरी ब्याटल ग्राउण्डका रुपमा चिनिने केही अस्थीर राज्यको मत कसका पक्षमा जानेछ भन्नेले दुई उम्मेदवारको भविष्य निर्धारण हुनेछ । दुबै उम्मेदवारले आफ्नो अन्तिम प्रयास तिनै राज्यमा केन्द्रित गराएका छन् ।
अमेरिकी निर्वाचनमा आमजनताको लोकप्रिय मत जितेर ह्वाइट हाउसमा राज गर्न पाइन्न । लोकप्रिय मत नजितेर पनि राज्यहरुबाट प्राप्त हुने इलेक्टोरल भोट आफ्नो पक्षमा पार्ने व्यक्ति संसारकै शक्तिमान शासक बन्न सक्नेछ ।
जनसंख्याको आधारमा विभिन्न राज्यबाट चुनिने ५३८ इलेक्टोरल भोट मध्ये २७० भोट आफ्नो पक्षमा पार्ने व्यक्तिले उक्त अवसर पाउने अमेरिकी निर्वाचन प्रणालीको विशेषता रहेको छ । यसका लागि इलेक्टोरल कलेज हात पार्न सम्बन्धित राज्यको ५० प्रतिशतभन्दा बढी मत पक्षमा पार्नुपर्नेछ ।
यसैका कारण सन् २०१६ को निर्वाचनमा ३० लाखभन्दा बढी भोट ल्याएर पनि इलेक्टोरल कलेजमा बहुमत जुटाउन नसक्दा डेमोक्रेट उम्मेदवार हिलरी क्लिन्टनले हार ब्यहोर्नुपरेको थियो भने ट्रम्पले विजयको माला पहिरिनुभएको थियो ।
त्यसअघि सन् २००० मा पनि जर्ज बुसले डेमोक्रेट उम्मेदवार अलगोरले भन्दा झण्डै ६ लाख कम भोट पाउँदा पनि ह्वाइट हाउसको दौडमा विजय पाउनुभयो । यसअघि १९ औं शताब्दीमा अरु तीन जनाले पनि यस्तो अवसर पाएका छन् ।
अमेरिकी इतिहासकै सबैभन्दा महत्वपूर्ण मानिएको यस निर्वाचनले गोरा अमेरिकीहरुको सर्वोच्चताको वकालत गरिरहेका वर्तमान राष्ट्रपति ट्रम्पको नीतिलाई आधिकारिकता दिनेछ वा समावेशीका पक्षमा मुखर बाइडेनलाई भन्ने टुंगो गर्नेछ ।
अहिलेसम्मको प्रायःजसा सबै सर्भेक्षणमा बाइडेनले ट्रम्पमाथि करिब ९ अंकको अग्रता लिइरहेको देखिएको छ । तर चार वर्षअघिको निर्वाचनमा पनि सबैजसो सर्भेक्षणमा अग्रता लिएर क्लिन्टनले हार ब्यहोर्नु परेकाले यस्ता सर्भेक्षणमा भरपर्न गाह्रो हुने आंकलन गरिएको हो ।
कोरोना महामारीको विश्वव्यापी चपेटमा परेर सबैभन्दा बढी क्षति ब्यहोरेको समयमा हुन लागेको यस निर्वाचनमा ट्रम्प प्रशासनले महाब्याधी नियन्त्रणमा कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न नसकेको आरोप लागेको छ ।
कोभिड–१९ बाट अमेरिकामा मात्रै २ लाख ३० हजारभन्दा बढी व्यक्तिले जीवन गुमाउँदा ९४ लाख मानिस संक्रमित बनेका छन् । भाइरस संक्रमणको शुरुवातदेखि खेलाँची गर्दा धेरै अमेरिकीले ज्यान गुमाउनु परेको आरोप ट्रम्पमाथि लागेको छ ।
करिब २४ करोड व्यक्ति मत दिनका लागि योग्य रहेको जनाइएको छ । जसमध्ये ९ करोडभन्दा बढी व्यक्तिले मतदानको दिनपूर्व नै हुलाक र मतदान केन्द्रमा पुगेर प्रत्यक्ष मतदान गरिसकेका छन् ।
जबकी सन् २०१६ मा १३ करोड ६५ लाखभन्दा बढीले मात्र मत दिएका थिए । त्यसका आधारमा हेर्दा यस पटक धेरै मत खस्ने अनुमान गरिएको छ ।
रमाइलो के छ भने दुई ठूला पार्टीबीच दुई/दुई कार्यकालको भागबण्डा जस्तो देखिने अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा अरु पार्टी र उम्मेदवार पनि रहेका छन् ।
यस पटक लिबेटेरियन पार्टीबाट जो जोर्येनसेन राष्ट्रपति र स्पाइक कोहेन उपराष्ट्रपतिको उम्मेदवार बनेका छन् ।
यसैगरी ग्रीन पार्टीका तर्फबाट हवेई हकिन्स राष्ट्रपति तथा एञजेला वार्कर उपराष्ट्रति पदमा उत्रिएका छन् । र्यापर केन्ये वेष्टसहितका आधा दर्जन अरु स्वतन्त्र उम्मेदवार पनि भोट माग्दै हिडेका छन् ।
प्रतिक्रिया दिनुहोस्