
काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीको विभाग गठन गरिसकेकाले त्यसबाहेकका विषयमा छलफल गर्न तयार रहेको बताउनुभएको छ ।
पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको १६ बुँदे मागका सम्बन्धमा सोमबार गरिएको छलफलमा उहाँले आगामी महाधिवेशन के कसरी गर्ने भन्नेमा सुझाव माग्नुभएको थियो ।
पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्य उपस्थित छलफलमा नेता पौडेल र महेश आचार्यले सभापतिले पार्टीलाई सही ढंगले नेतृत्व दिन नसकेको भन्दै आलोचना गर्नुभएको थियो ।
त्यसक्रममा सभापति देउवाले बीच बीचमा कुरा काट्न थालेपछि नेता आचार्यले सभापतिले कुरै नसुन्ने भए छलफलमा बस्नुको अर्थ नभएको भन्दै प्रतिवाद गर्नुभएको थियो ।
आफ्नो कार्यकालभर विभाग नबनाएका देउवाले अर्र्काे महाधिवेशनको मिति तय भैसकेपछि विभागमा मनोनयन गरेकामा पौडेल पक्षले १४ औं महाधिवेशन प्रभावित गर्ने खेल भन्दै आपत्ति जनाइरहेको छ ।
विभाग गठन, क्रियाशील सदस्यता, समायोजनलगायतका विषयमा प्रश्न उठाउँदै पौडेल पक्षका २७ केन्द्रीय सदस्यले १२ असोजमा पार्टीमा १६ बुँदे विरोधपत्र बुझाएका थिए ।
उपसभापति विमलेन्द्र निधिले भने अरु दलबाट आएकाहरुलाई विधानको व्यवस्थाअनुसार नै केन्द्रीय कार्यसमितिले क्रियाशील दिएको दाबी गर्नुभएको थियो ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने फागुनमा महाधिवेशन हुन नसक्ने भएकाले नयाँ मिति तोकेर कार्यतालिका बनाउन माग गर्नुभयो ।
बैठक मंगलबार फेरि बस्ने गरी सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्