२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


अमेरिकी निर्वाचनः ट्रम्पले गरे आफ्नो विजय घोषणा आफै, बाइडेन भन्छन्–हामी निर्वाचन जित्ने दिशामा छौं


0
Shares

us election trump biden victory claims

काठमाडौं, कात्तिक १९ । अमेरिकी राष्ट्रपति पदका लागि सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ । र धेरैजसो राज्यको परिणाम आउनेक्रम छ ।

मतपरिणाममा राष्ट्रपति पदका दुई उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच तीब्र प्रतिष्पर्धा देखिएको छ ।

ट्रम्पले मंगलबार सम्पन्न निर्वाचन आफूले जितिसकेको दाबी गर्नुभएको छ भने यसरी राष्ट्रपतिबाटै अनधिकृत रुपमा दाबी गरिएकामा विपक्षी डेमोक्र्याट नेताहरुले आपत्ति जनाएका छन् ।

बुधबार ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै आफूले निर्वाचन जितिसकेको दाबी गरेकामा डेमोक्र्याट नेताहरुले यो अधिनायक, निरंकुश र खतरनाक भएको प्रतिक्रिया दिएका हुन् ।

धेरै मानिसको मताधिकार खोस्ने प्रयास भइरहेको आरोप लगाउँदै ट्रम्पले आफूले त्यस्तो हुन नदिने बताउनुभएको छ ।

नर्थ क्यारोलिनाको परिणाम घोषणा नगरेकामा आक्रोशित ट्रम्पले त्यहाँ आफूले जितिसकेको र आफ्ना पक्षमा परिणाम घोषणा नगरे सर्वोच्च अदालतमा जाने धम्की दिनुभएको छ।

उता, डेमोक्रेट उम्मेदवार जो बाइडेनले पनि आफूहरु निर्वाचन जित्ने दिशामा रहेको भन्दै धैर्य गर्न आफ्ना समर्थक र मतदाताहरुलाई अपील गर्नुभएको छ ।

बुधबार डेलावेयरमा संक्षिप्त प्रतिक्रिया दिँदै अमेरिकी समयअनुसार बुधबार बिहानसम्ममा आगामी कार्यकालको राष्ट्रपतिको छिनोफानो हुने बताउनुभयो ।

अहिलेसम्म प्राप्त नतिजाबाट आफू खुशी रहेको भन्दै उहाँले अन्तिम मत गन्दासम्म पनि निर्वाचन नसकिने बताउनुभयो ।

अहिले नै आफूले र डोनाल्ड ट्रम्प कसैले पनि कसले जित्यो भनेर घोषणा गर्न नसक्ने भन्दै कसले जित्यो भनेर तय गर्ने अधिकार अमेरिकी जनतामा मात्र रहेको टिप्पणी गर्नुभएको बीबीसीलगायत अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।