
पाँचथर, कात्तिक १९ । पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्टाक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा सङ्क्रमण देखिएको हो ।
फिदिमका ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तीन जना बन्दीसमेत रहेका छन् ।
बुधबार आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरेसहित स्थानीय व्यवसायीमा सङ्क्रमण देखिएको हो ।
अध्यक्ष नेपाल र महासचिव घिमिरे दुवैले सामाजिक सञ्जालमार्फत सङ्क्रमण देखिएको जानकारी दिँदै सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गर्नुभएको छ ।
पछिल्लो पटक फिदिमस्थित आइसोलेसनमा रहेका तीन जना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एक जना गरी चार जनाले कोरोना जितेका छन् ।
पछिल्लो सङ्ख्यासँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ ।
मङ्गलबार मात्रै मिक्लाजुङका एक जनामा सङ्क्रमण देखिएको थियो ।
जिल्लाको मिक्लाजुङ गाउँपालिका तथा सदरमुकाम फिदिममा समुदायस्तरमा सङ्क्रमण देखिए पनि पछिल्लो पटक ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्