१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विज्ञापन बोर्ड तत्काल गठन गर्न सञ्चारआवद्ध तीन संस्थाको सरकारसँग माग


0
Shares

media allince demand

काठमाडौं, कात्तिक १९ । सञ्चारआवद्ध तीन संस्थाले विज्ञापन बोर्ड तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् ।

मिडिया एलाईन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ (आन) ले संयुक्त विज्ञप्ति निकाल्दै विज्ञापन ऐन कार्यान्वयनमा आएको एक वर्ष बितिसक्दा पनि बोर्ड नबनाइएकामा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ऐनको भावना र मर्मअनुसार उक्त ऐन पूर्ण कार्यान्वयनका लागि गठन हुनुपर्ने विज्ञापन बोर्डको गठनमा भएको ढिलाईप्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्दै ऐन कार्यान्वयनमा आएको एक बर्ष बितिसक्दा पनि बोर्ड गठन गर्न गरिएको ढिलाई र त्यसले पारेको गम्भीर प्रभावलाई विचार गरी तत्काल बोर्ड गठन गर्न माग गर्दछौ ।’

ती संस्थाले हाल गठन गरिएको भनिएको बोर्डले दीर्घकालीन प्रभाव पार्ने काम गर्न नसक्ने भन्दै बोर्ड गठनलाई प्राथमिकता प्रदान गर्न र ब्यवसायीक व्यक्तिहरुको सहभागीता गराउन माग गरेका छन् ।

उनीहरुले विज्ञापन ऐनअनुसार नेपालमा डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरु विज्ञापनरहित हुनुपर्ने प्रावधान कार्तिक ८ गतेबाट कार्यान्वयनमा आएकोमा स्वागत पनि गरेका छन् ।

यो व्यवस्था लागु हुँदा राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिको जगेर्ना हुने पनि जनाइएको छ ।

यसैगरी ऐन कार्यान्वयनका क्रममा नेपाल केबल टेलिभिजन व्यवसायी महासंघलगायतका संघ संस्थाले उठाएका माग सम्बोधन गर्न सरकारसँग उनीहरुले माग गरेका छन् ।