
एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले वैध भोटको गणना गरिए आफैले चुनाव जित्ने दाबी फेरि दोहोर्याउनु भएको छ ।
अमेरिकी समयअनुसार ह्वाइट हाउसमा बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै ट्रम्पले भन्नुभयो, ‘यदि वैध भोटको गणना गरिए मै चुनाव जित्छु ।’
आफ्नै प्रशासनले गराएको निर्वाचनप्रति अविश्वास गर्दै उहाँले धोखाधडीपूर्ण रुपमा आफूलाई राष्ट्रपति निर्वाचित हुनबाट रोक्ने खेल भएको आरोप लगाउनुभयो ।
प्रक्रिया अदालतसम्म पुगेको भन्दै हुलाकबाट मत दिन पाउने व्यवस्था अनुचित थियो र यो विनाशकारी हुने आफूले पहिलेदेखि भन्दै आएको उहाँले जिकीर गर्नुभयो ।
चुनावमा पराजित हुने देखेपछि ट्रम्पको चुनावी अभियानकर्ताहरु मुद्दा बोकेर अदालत पुगेका छन् । नेभेदा, पेन्सिलभानिया, जर्जिया, मिचिगनलगायतका राज्यमा भइरहेको मतगणना रोक्न माग गर्दै उनीहरु अदालत पुगेका हुन् ।
ट्रम्पले भन्नुभयो, ‘चुनावी पवित्रताको रक्षा गर्नु हाम्रो लक्ष हो र भ्रष्टाचारका कारण यति महत्वपूर्ण चुनावमा कुनै धोखेबाजी हुन हामी दिँदैनौं ।’
विषय अदालतसम्म पुगेकाले अब जे गर्छन् अदालतका न्यायाधीशले नै गर्ने पनि उहाँले बताउनुभयो ।
अमेरिकी समाचार संस्था फक्स न्यूजका अनुसार अहिलेसम्म जो बाइडनको २६४ र ट्रम्पको २१४ मात्र मत रहेको छ ।
अमेरिकी निर्वाचन प्रणालीअनुसार राष्ट्रपति पदमा चुनिनका लागि ५३८ मध्ये २७० इलोक्टारल मतको आवश्यकता पर्दछ ।
प्रतिक्रिया दिनुहोस्