
काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री केपी ओलीसँग भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र भारतीय स्थल सेनाध्यक्ष नरवणेबीच शुक्रबार भेटवार्ता भएको हो ।
बुधबार तीन दिने नेपाल भ्रमणमा आउनुभएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।
भेटमा प्रधानमन्त्री ओलीका साथमा उहाँको विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि उपस्थित हुनुभएको छ ।
नरवणेसँगै भने नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रासहतिका अधिकारी सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाउनुभएको छ ।
तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउनुभएका भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मानार्थ सेनापतिबाट सम्मान गर्नुभएको थियो ।
भारतले कालापानी–लिम्पियाधुरामा सीमा मिचेपछि दुई देशबीच सीमा विवादको तिक्तता रहेकै बेला भारतीय स्थल सेनाध्यक्षको भ्रमण हुनुका साथै प्रधानमन्त्री ओलीसँग भएको भेटवार्ताले दुई देशबीचको सम्बन्ध हार्दिक बनाउन भूमिका खेल्नसक्ने जनाइएको छ ।
नेपाल भारतबीच लामो समयदेखि दुई देशका सेना प्रमुखलाई एकार्का देशको मानार्थ सेनापतिको सम्मान दिने प्रचलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्