
रुकुमपूर्व, कात्तिक २१ । रुकुमपूर्वमा यस वर्ष तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ ।
कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन् ।
देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना सङ्क्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विगत एक महिनायता जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।
जिल्लामा सक्रिय सङ्क्रमित छैनन् भनेर लापरबाही गर्न कसैलाई छुट नभएको प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताउनुभयो ।
विगतका वर्षझै तिहारमा दाइभाइ दिदीबहिनी कहाँ र दिदी बहिनी दाइभाइ कहाँ नजान पनि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सबैमा आग्रह गरेको छ ।
हामी रहेमात्र हाम्रा चाडपर्व रहन्छन् भन्दै उहाँले सबैलाई अहिले आफू बसिरहेको ठाउँमा सुरक्षित भएर बस्न जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।
यसपालीको तिहारमा कोहीकसैले निर्णय विपरीत देउसी भैलोको कार्यक्रम सञ्चालन गरेमा कानूनअनुसार कारवाही गरिने प्रजिअ राइले चेतावनी दिनुभयो ।
प्रजिअ राइले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दैनिक कामकाज एवं चाडपर्व मनाउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्