
एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदमा आगामी चार वर्षे कार्यकाल डेमोक्र्याटको पोल्टामा जाने करिब सुनिश्चित जस्तै देखिएको छ ।
रिपब्लिकनहरुको नियन्त्रणमा रहेको मानिएको र मतगणनादेखि नै डोनल्ड ट्रम्पले अग्रता लिइरहेको जर्जियामा १ प्रतिशतभन्दा कम मत गन्न बाँकी रहँदा एकाएक जो बाइडनले अग्रता लिनुभएको छ ।
मतगणना सकिन लाग्दा बाइडनले एक हजारको संख्याले अग्रता लिएकाले जर्जियाको १६ इलेक्टोरल मत उहाँकै पोल्टामा जान सक्ने अनुमान अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् ।
जर्जिया गुमाएसँगै ट्रम्पको जीतको सम्भावना सकिएको सचारमाध्यमहरुको भनाइ छ । गणना सकिन बाँकी रहेका र तीब्र प्रतिष्पर्धा रहेको भनिएका एरिजोना, नेभदामा पनि बाइडनले नै जित्ने दाबी फक्स न्यूजलगायत सञ्चारमाध्यमले गरेका छन् ।
गणनादेखि नै ठूलो अन्तरले अग्रता लिएको पेन्सिलभानियामा समेत ट्रम्पको अग्रता साँघुरिएको छ । त्यहाँ करिब डेढ लाख मत गन्न बाँकी रहेको जनाइएको छ र ट्रम्पको अग्रता खुम्चँदै १८ हजारको वरिपरीमा आएको छ ।
गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले यो राज्यमा पनि बाइडेनले जित्नसक्ने अनुमान केही सञ्चारमाध्यमको छ ।
फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २६४ मत पुग्ने प्रष्ट भैसकेको छ भने ट्रम्पको खातामा २१४ इलेक्टोरल मत छ ।
प्रतिक्रिया दिनुहोस्