
एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडनले अन्ततः पेन्सिलभानियामा पनि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई पछाडी पार्नुभएको छ ।
ह्वाइट हाउसको दौडमा रहेका दुबैले आँखा लगाएको र निकै परिश्रम गरेको यस राज्यमा मतगणना थालेदेखि नै ट्रम्पले अग्रता लिनुभएको थियो । तर पछिल्ला दिनमा भने बाइडनले मतान्तरलाई साँघुर्याउँदै ल्याउनु भएको थियो ।
मतगणनाको पछिल्लो परिणाम अनुसार साढे ५ हजार मतले बाइडनले ट्रम्पमाथि अग्रता लिनुभएको हो । बाइडनले ३२ लाख ९५ हजार मत पाउँदा ट्रम्पले ३२ लाख ८९ हजार पाउनु भएको फक्स न्यूजले जनाएको छ ।
पछिल्लो पटक ३१ हजार मत गन्दा ८७ प्रतिशत मत बाइडनका पक्षमा परेको जनाइएको छ । २० इलेक्टोरल मत रहेको पेन्सिलभानियामा अहिलेसम्म ९५ प्रतिशत मत गणना भएको जनाइएको छ ।
पेन्सिलभानियामा पनि बाइडन अगाडी लागेकाले अब ट्रम्पको जीतको आशा सकिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले यो राज्यमा पनि बाइडेनले जित्नसक्ने अनुमान केही सञ्चारमाध्यमको छ ।
यसअघि रिपब्लिकनहरुको नियन्त्रणमा रहेको मानिएको र मतगणनादेखि नै डोनल्ड ट्रम्पले अग्रता लिइरहेको जर्जियामा १ प्रतिशतभन्दा कम मत गन्न बाँकी रहँदा बाइडनले अग्रता लिनुभएको थियो ।
मतगणना सकिन लाग्दा बाइडनले एक हजारभन्दा बढी संख्याले अग्रता लिएकाले जर्जियाको १६ इलेक्टोरल मत उहाँकै पोल्टामा जान सक्ने अनुमान अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् ।
जर्जिया गुमाएसँगै ट्रम्पको जीतको सम्भावना सकिएको यसअघि नै सचारमाध्यमहरुको जनाएका थिए । गणना सकिन बाँकी रहेका र तीब्र प्रतिष्पर्धा रहेको भनिएका एरिजोना, नेभदामा पनि बाइडनले नै जित्ने दाबी फक्स न्यूजलगायत सञ्चारमाध्यमले गरेका छन् ।
फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २६४ मत पुग्ने प्रष्ट भैसकेको छ भने ट्रम्पको खातामा २१४ इलेक्टोरल मत छ ।
प्रतिक्रिया दिनुहोस्