
एजेन्सी, कात्तिक २२ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडन अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै जीतको घोषणा गर्ने अवस्थामा पुनुभएको छ ।
त्यही पराजयको सम्मुख उभिनुभएका वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प भने कानूनी संघर्षमा जाने हुनु भएको छ ।
प्रतिष्पर्धी बाइडनले जीतको आंकलन गर्दै संक्रमणकालीन कार्यालयसमेत राख्न लागेपछि ट्रम्पले विजयको दावी नगर्न भन्दै त्यसको साटो अदालतमा मुद्दा झेल्न तयार हुन सचेत गराउनु भएको छ ।
बाइडन भने अघिल्लो निर्वाचनमा ट्रम्पले जित्नुभएको एरिजोना, जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन, मिचिगन जस्ता महत्वपूर्ण राज्यको इलेक्टोरल मत आफ्नो पोल्टामा पार्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस छिर्न सम्पूर्ण तयारी तर्फ लाग्नुभएको छ ।

आफ्नो पार्टी रिपब्लिकनका नेताहरुले संकटको यस घडीमा आफूलाई समर्थन नगरेकामा पनि ट्रम्प निकै आक्रोशित देखिनु भएको छ । ट्रम्पका छोराहरुसमेत पार्टी नेताहरुतर्फ निशाना सोझ्याइरहेका छन् ।
राष्ट्रपति कार्यालय छिर्न महत्वपूर्ण मानिएको पेन्सिलभानियामा बाइडनले बिहीबारदेखि ट्रम्पमाथिको अग्रता बढाउँदै लग्नुभएको छ । ९८ प्रतिशत मत गणना गर्दा बाइडनले करिब २० हजार मतले ट्रम्पलाई उछिन्नुभएको छ ।
पेन्सिलभानियामा पनि बाइडन अगाडी लागेकाले अब ट्रम्पको जीतको आशा सकिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले यो राज्यमा पनि बाइडेनले जित्नसक्ने अनुमान केही सञ्चारमाध्यमको छ ।
यसअघि रिपब्लिकनहरुको नियन्त्रणमा रहेको मानिएको र मतगणनादेखि नै डोनल्ड ट्रम्पले अग्रता लिइरहेको जर्जियामा १ प्रतिशतभन्दा कम मत गन्न बाँकी रहँदा बाइडनले अग्रता लिनुभएको थियो ।
मतगणना सकिन लाग्दा बाइडनले एक हजारभन्दा बढी संख्याले अग्रता लिएकाले जर्जियाको १६ इलेक्टोरल मत उहाँकै पोल्टामा जान सक्ने अनुमान अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् ।
जर्जिया गुमाएसँगै ट्रम्पको जीतको सम्भावना सकिएको यसअघि नै सचारमाध्यमहरुको जनाएका थिए । गणना सकिन बाँकी रहेका र तीब्र प्रतिष्पर्धा रहेको भनिएका एरिजोना, नेभदामा पनि बाइडनले नै जित्ने दाबी फक्स न्यूजलगायत सञ्चारमाध्यमले गरेका छन् ।
फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २६४ मत पुग्ने प्रष्ट भैसकेको छ भने ट्रम्पको खातामा २१४ इलेक्टोरल मत छ ।
प्रतिक्रिया दिनुहोस्