१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३२ वर्षअघिको सपना पूरा गर्दै ह्वाइट हाउस छिर्न सफल बाइडन !


0
Shares

us election joe biden victory in prsident

काठमाडौं, कात्तिक २३ । अन्ततः जो बाइडन ३२ वर्ष अगाडी आफूले देखेको सपना पूरा गर्दै विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन सफल हुनुभएको छ । त्यो पनि २८ वर्षपछि बहालवाला राष्ट्रपतिलाई दोस्रो कार्यकालका लागि ह्वाइट हाउस पुग्न बाटो छेक्दै ।

बाइडन निकै प्रतिष्पर्धी, लामो, विवादित बनेको निर्वाचन प्रक्रियामा रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

जो बाइडन यस्तो समयमा मुलुकको बागडोर सम्हाल्न पुग्नुभएको छ, जुन बेला समग्र अमेरिका विभाजित मानसिकतामा छ । श्वेत र अश्वेत अमेरिकीबीचको खाडल मात्र बढेको छैन, कोरोना महामारीले सन्त्रस्त बनाएको समाज र थलिएको अर्थतन्त्रलाई सम्हाल्नु छ ।

आप्रवासीहरुप्रति चार वर्षे ट्रम्प प्रशासनले मच्चाएको ताण्डवलाई शान्त पार्दै उनीहरुसमेतको विश्वासमा मुलुकलाई एक बनाएर अगाडी बढाउने नेतृत्व गर्ने जिम्मेवारी सात करोडभन्दा बढी अमेरिकीले ७७ वर्षीय बाइडनको काँधमा हालिदिएका छन् ।

ट्रम्पको कार्यकालमा विश्वस्तरमा खुम्चिएको अमेरिकी प्रभाव विस्तारदेखि बेरोजगार बनेका लाखौं अमेरिकन युवाको आशा उहाँमाथि नै आएर अडिएको छ ।

सन् १९४२ नोभेम्बर २० मा अमेरिकाको पेन्सिलभानियामा जन्मनुभएका जोशेफ रोबिनेट बाइडेनको लामो राजनीतिक यात्रा रहेको छ । तेस्रो पटकको प्रयासमा अमेरिकी राष्ट्रपति बन्दै ह्वाइट हाउस प्रवेश गर्ने ढोका खुलेको उहाँ, यसअघि सन् २००९ देखि २०१७ जुन २० सम्म आठ वर्ष बराक ओबामाको राष्ट्रपतिकालमा उपराष्ट्रपति रहनुभएको थियो ।

सन् १९७२ मा २९ सै वर्षको उमेरमा डेलावरबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्नुभएका उहाँ उपराष्ट्रपति बनेर ह्वाइट हाउस नछिर्दासम्म लगातार ३६ वर्षसम्म त्यहाँबाट सिनेटमा प्रतिनिधित्व गरिरहनुभयो ।

सन् १९७० देखि राजनीतिक जीवनको यात्रा थाल्नुभएका उहाँ पाँच दशकदेखि अमेरिकी राजनीतिका दीर्घ सेवक हुनुहुन्छ । ओबामा कार्यकालमा ४७ औं उपराष्ट्रपति बनेर ८ वर्ष अमेरिकी संसदको माथिल्लो सदन सिनेटको अध्यक्षतासमेत गर्नुभएको छ ।

पहिलो पटक ह्वाइट हाउस छिर्न बाइडेनले सन् १९८८ मा राष्ट्रपति निर्वाचनमा प्रत्याशीका रुपमा अभियान चलाउनु भएका थियो । तर बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछी उहाँ अभियानबाट बाहिरिनु परेको थियो । त्यतिबेला उहाँ निकै राम्रो भाषण कलाका कारण चर्चामा हुनुहुन्थ्यो ।

दोस्रो पटक उहाँ २००८ मा राष्ट्रपति बन्ने मनसायका साथ पार्टीको उम्मेदवार छानिन मैदानमा आउनुभयो । तर पार्टीको उम्मेदवार चुनिने निर्वाचनहरुमै उहाँ तत्कालीक उच्चप्रभावी प्रतिष्पर्धी बराक ओबामा र हिलरी क्लिन्टनसँग टिक्नसक्नु भएन ।

यथेष्ट चुनावी खर्च जुटाउन र समर्थकको भीड जम्मा पार्न पनि नसकेपछि उहाँ मैदानबाट बाहिरिनुभयो । तर त्यो उम्मेदवारी फिर्ताले उहाँलाई ओबामासँगै ८ वर्ष ह्वाइटहाउसमा रहेर काम गर्ने अवसर दिलाइदियो । र ४६ औं राष्ट्रपतिका लागि मार्ग प्रशस्त पनि बनाइदियो ।

सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष समेत रहनुभएका बाइडेन प्रखर अमेरिकी राजनीतिज्ञ मानिनुहुन्छ । सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा उभिनुभएका उहाँले सन् २००३ मा भने इराक अतिक्रमणको समर्थन गर्नुभएको थियो । आतंकवादका विपक्षमा उभिनुहुने उहाँ इराकमा अमेरिकी संलग्नताको आलोचक पनि रहनुभयो ।

आतंकवादी समूह अलकायदाका नाइके ओसामा बिन लादेनलाई मार्नेभन्दा सम्झौता गर्न उहाँले तत्कालीक राष्ट्रपति बाराक ओबामालाई सुझाव दिनुभएको थियो । प्रखर वक्ता मानिनुहुने बाइडेन सामान्य नागरिकसँग भने निकै सहज घुलमिल हुन रुचाउने छवी बनाउनुभएको छ ।

उहाँको यही छवीकै कारण चुनावी अभियानमा मजदुर र कामदार वर्गलाई जुटाएको र मत तान्नुभएको बताइन्छ । पत्नी र छोरीलाई कार दुर्घटनामा गुमाउनु परेका उहाँले सोही दुर्घटनामा घाइते अर्का एक छोरालाई भने ब्रेन ट्युमरका कारण गुमाउनु परेको छ । बाइडेनले पहिली पत्नी नेलिया हन्टरको मृत्यपछी जिलसँग दोश्रो विवाह गर्नुभएको हो ।

अमेरिकाको डेलावयरबाट उच्च शिक्षा हासिल गर्नु भएका बाइडेन राजनीति शास्त्र र कानूनका विद्यार्थी रहनुभएको थियो । उहाँले सन् १९७१ मा अमेरिकाका विल्मिङटनको ल फर्म समेत सञ्चालन गर्नुभएको थियो । तस्वीरः विकिपिडिया

-एजेन्सीको सहयोगमा