१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्धार उडान बन्द र पर्यटन क्षेत्र खुला गर्न सीसीएमसीको सिफारीस


0
Shares

काठमाडौं, कात्तिक २३ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले बताउनुभयो ।

सीसीएमसीले कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ ।

यसैगरी सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको गुरागाईंले बताउनुभयो ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको छ ।