१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिहार निर्वाचनः लालुपुत्र तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण, नितिश–मोदीलाई धक्का !


0
Shares

India Bihar election Tejaswi yadav will win election

एजेन्सी, कात्तिक २३ । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनमा तेजस्वी यादव नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ ।

बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव (जो भ्रष्टाचारको मुद्दामा हाल जेलमा छन्) का छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन् ।

यदि प्रक्षेपण मेल खाएका बिहारमा तीन कार्यकालदेखि सत्ताको बागडोर सम्हालिरहनुभएका वर्तमान मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी गठबन्धनले ठूलो धक्का ब्यहोर्नुपर्ने छ ।

शनिबार तेस्रो चरणको विधान सभा निर्वाचन सम्पन्न भएको विहार निर्वाचनको अन्तिम परिणाम भने मंगलबार घोषणा हुने जनाइएको छ ।

एनडिटिभीले तेजश्वी नेतृत्वको विपक्षी गठबन्धनले २४३ मध्ये १ सय २८ सिटमा बहुमतसहित जित हासिल गर्ने र एनडिए गठबन्धनले ९९ सिट ल्याउने प्रक्षेपण गरेका छ भने चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी(एलजेपी)ले ६ सिट ल्याउने छ ।

द इण्डिया टुडे–एक्सिज माइ इण्डिया पोलले महागठबन्धनले १३९ र नितिश–बिजेपी गठबन्धनले ६९ देखी ९१ सिट ल्याउने र एलजेपीले ३ देखि ५ सिट जित्ने प्रक्षेपण गरेको छ ।

उता, टाइम्स नाउ–सी भोटर एनडिएले ११६ र विपक्षी गठबन्धनले १ सय २० सिट जित्ने प्रक्षेपण गर्दछ । चिरागको पार्टीले एक सिट जित्ने अनुमान छ ।

रिपब्लिक टिभीले यादव नेतृत्वको गठबन्धनले ११८ देखि १३८ सिट पाउने तथा एनडिएले ९१ देखि ११७ सिट ल्याउने जनाएको छ । चिरागको पार्टीले ५ देखि ८ सिट ल्याउन सक्ने उसको आंकलन छ ।

भाजपा–जेडियुको सत्तारुढ गठबन्धनलाई चुनौती दिन तेजस्वी नेतृत्वको आरजेडी, कांग्रेस आई र वामपन्थी पार्टीले ‘महागठबन्धन’ बनाएर चुनाव लडेका हुन् ।