
काठमाडौं, कात्तिक २४ । राष्ट्रिय जनगणना–२०७८ मा ३ करोड जनसंख्या र ७० लाख घरपरिवारको जनगणना केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ ।
आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा केन्द्रिय तथ्याकं विभागका महानिर्देशक नेबीनलाल श्रेष्ठले आगामी वर्ष ३ करोड जनसंख्या र ७० लाख घरपरिवारको आर्थिक र सामाजिक पक्षको गणना गरिने जानकारी दिनुभयो ।
यसपटकको जनगणनामा पहिलो पटक घर तथा परिवारसम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरुको विस्तृत तथ्याङ्क संकलन गरिने श्रेष्ठले बताउनुभयो ।
यसपटकको जनगणनामा पहिलोपटक स्थानीय तहसम्म गइ विस्तृत तथ्यांक संकलन गरिने उहाँले जानकारी दिनुभयो ।
जनगणनाको समयमा ४ महिनाका लागि विभिन्न स्थानमा कार्यालय स्थापना हुनेछ ।
केन्द्रसँगै ७ वटै प्रदेश, सबै जिल्ला, सबै स्थानीय तह र वडा कार्यालयमा समेत जनगणना समन्वय समिति स्थापना हुने छ ।
आगामी राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि ३ वटा प्रश्नावली तयार पारिएको छ ।
यसपटकको राष्ट्रिय जनगणनामा ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको छ ।
वि.स. १९६८ बाट नेपालको जनगणना सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्