
एजेन्सी, कात्तिक २५ । निर्वाचनमा जनताबाट अस्वीकृत भएर पनि हार अस्वीकार गरिरहनुभएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुभएको छ ।
ट्रम्पले ट्वीट गर्दै मार्क एस्परलाई बर्खास्त गरेको जनाउनुभएको हो । एस्परको स्थानमा नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरलाई ल्याइएको छ ।
पछिल्ला केही हप्तायता ट्रम्प र एस्परबिच सार्वजनिक रुपमै विवाद देखिएको थियो । खासगरी रकंगभेद विरोधी प्रदर्शनमा सुरक्षाकर्मीको तैनाथी र प्रयोगा विषयमा ट्रम्पसँग एस्परको विवाद थियो ।
प्रदर्शन दबाउन सैनिक बल प्रयोग गर्ने ट्रम्पको चाहनामा एस्पर अबरोधक बन्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका थिए ।
नोभेम्बर ३ मा भएको चुनावमा पराजित ट्रम्पको दोस्रो कार्यकाल ह्वाइट हाउसमा रहने योजना चकनाचूर भएको छ ।
डेमोक्र्याटिक उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा विजयी हुनुभएको छ । र उहाँ संक्रमणकालीन प्रशासन सञ्चालनको तयारीमा हुनुहुन्छ । तर ट्रम्पले भने हार अस्वीकार गर्दै अदालतमा मुद्दा हालिरहनुभएको छ ।
अमेरिकी निर्वाचन प्रणाली अनुसार निर्वाचित राष्ट्रपतिले जनवरी २० मा मात्र राष्ट्रपतिको शपथ लिने भएकाले त्यसअघि वहालवाला राष्ट्रपति निर्णय लिन स्वतन्त्र मानिन्छन् । तर दीर्घकालीन असर पर्ने निर्णयहरु लिने अधिकार भने उनले गुमाइसकेका हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्