
रसुवा, कात्तिक २५ । पछिल्लो चरणमा जिल्लामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ ।
हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् ।
रोगबाट सुरक्षित रहन समयसमयमा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंँपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले जानकारी दिनुभयो ।
हालसम्म एक हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको बताइएको छ ।
साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजीकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसंँग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।
यसैबीच प्रा. डा. गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुभएको छ ।
रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा. डा. केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहनुभएको छ ।
प्रा. डा. केसीले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिइसक्नुभएको बताइएको छ ।
स्थानीय नागरिकको सेवाका लागि हालसम्म छ पटक रसुवा पुग्नुभएका प्रा. डा. केसी यही कात्तिक २६ सम्म जिल्लामा रहनुहुने छ ।
प्रतिक्रिया दिनुहोस्