
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराईका जिल्लामा बर्षेनी भइरहेको डुबान समस्याको कूटनीतिक समाधान खोज्न ढिला गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले सरकारलाई तराईका जिल्लामा बर्षेनी हुने डुबानको दीर्घकालीन समस्या समाधानका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका हुन् ।
तटबन्धका कारण बर्षेनी डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एकापसमा दोषारोपणभन्दा समाधान खोज्नुपर्ने बताउ । देउवाले भने, ‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भइसकेको छ । भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने । कति दिनसम्म चल्छ यो ? त्यसकारण कूटनीतिक तहबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ । भारतले डुबान पार्यो भन्छन् त्यहाँ । भारतले नेपालले सिध्यायो भन्छ । त्यसकारण यसमा कूटनीतिक ढंगले कुरा गर्नुपर्छ ।’
सरकारले बाढी र डुबानमा परी घरवारविहिन भएकालाई उचित वासस्थान र राहत दिन नसकेको आरोप लाउँदै देउवाले भने, ‘टहरा बनाएर बसेका छन् खाद्यान्न छैन । सरकारको पहिलो कर्तव्य जो बाढी, पहिरो र डुबानमा परि घरविहिन भएका छन् उनलाई खाद्यान्न दिने । लत्ता कपडा दिने । पाल दिने, ओत दिने काम केही गरेको छैन । केही रेडक्रसले, केही विदेशी संस्थाहरुले, आईएनजिओहरुले गरेका छन् । तर सरकारबाट कही पनि देखिन मैले । हेलिकोप्टरबाट उद्धार कहाँ हुन्छ ? त्यसकारण सरकार तात्नुपर्ने, लाग्नुपर्ने । कहीँ पनि लागेको छैन ।’
सिरहा, सुनसरी, रौतहटलगायत जिल्लाको अनुगमनका क्रममा आफुले कही पनि सरकारको उपस्थिति नदेखेको भन्दै ‘दुःख परेको बेला आवश्यक प्रबन्ध मिलाउनुपर्नेमा सरकार नपुगेको’ टिप्पणी उनले गरे ।
प्रतिक्रिया दिनुहोस्