
काठमाडौं, कात्तिक २६ । चीनले नेपाली कांग्रेसका नेताहरुले सीमा विवादका बारेमा बोलेका भनाइप्रति आपत्ति जनाएको छ।
नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियासमेत मिलेर चीनले नेपालको सीमा मिचेको भनेर हल्ला मच्चाइएको आरोप चीनले लगाएको हो ।
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले सार्वजनिक ‘मिथ्या रिपोर्ट’को पछाडि कांग्रेस, भारत र पश्चिमाहरुको हात रहेको आरोप लगाएको हो ।
चिनियाँ मुखपत्र लेख्छ, ‘प्रो–इन्डियन पार्टीको ट्याग लागेको प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसलाई यो हल्ला फैलाउने मुख्य संस्थाको रुपमा लिइएको छ ।’
‘हू इज बिहाइन्ड द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट चाइना ?’ शिर्षकको खबरमा हुम्ला जिल्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप लगाइएको र सो खबर गोप्य स्रोत भन्दै पश्चिमा तथा भारतीय सञ्चारमाध्यमले प्रकाशित तथा प्रशारित गरेको उल्लेख छ ।
पत्रिकाले केही नेपाली विज्ञलाई समेत उल्लेख गर्दै निकालेको लामो रिपोर्टमा कांग्रेस नेता एवं कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर शाहीलाई विभिन्न आरोप पनि लगाइएको छ ।
शाहीको टोलीले चीनले सीमा मिचेको भनिएको क्षेत्रको भ्रमण गरी पार्टीमा चीनले सीमा मिचेको रिपोर्ट बुझाएको भन्दै चीनले शाहीप्रति रुष्टता साँधेको छ । शाहीको भ्रमणपछि चीनमाथि सीमा मिचेको मिथ्या आरोप लगाइएको पत्रिको भनाइ छ ।
‘धेरै अदृश्य वैदेशिक लगानी भएको नेपाल एउटा सानो मुलुक हो, जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन्’ ग्लोबल टाइम्सको निचोड छ ।
चीनले नेपाली भूमि मिचेको रसैन्य आधार नै बनाउन लागेको खबर बेलायती प्रसिद्ध पत्रिका दि डेली टेलिग्राफले प्रकाशित गरेपछि चीन क्रूद्ध बनेको छ ।
प्रतिक्रिया दिनुहोस्