
काठमाडौं, कात्तिक २६ । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ ।
कोरोनाका कारण बन्दरसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
आयातित सामानको परिमाण बढेसँंगै चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म भन्सार शुल्कवापत करिब एक अर्ब राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।
आयात भएका सामग्रीमा जुत्ता, चप्पल, तयारी पोशाक, शिशुका खेलौना, विद्युत्का उपकरणलगायत छन् ।
चिनियाँ व्यवसायीले दैनिक पाँच ठूलो टे«लरमार्फत मितेरी पुलसम्म मालसामग्री ल्याउने गरेको जनाइएको छ ।
दैनिक स्वास्थ्य परीक्षण एवं सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान राख्न र रसुवागढीदेखि टिमुरेमा रहेको भन्सार हातासम्म कन्टेनर ल्याउन मजदूर तथा चालकको व्यवस्था गरिएको भन्सार कार्यालयले जनाएको छ ।
केरूङदेखि रसुवागढीसम्म सामान ढुवानी गर्ने चिनियाँ भन्सार प्रतिनिधिले चर्काे भाडा असुल्ने गरेका कारण व्यवसायी मर्कामा परेको गुनासो बढेको छ ।
प्रतिक्रिया दिनुहोस्