
काठमाडौं, कात्तिक २७ । अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखमा जारी संघर्ष अन्त्यका लागि भएको सम्झौताका बीच रुसले सो क्षेत्रमा शान्ति सेनाका सयौं टुकडी तैनाथ गरेको छ ।
यी दुई राष्ट्रबीच शान्ति सम्झौताका लागि अहम भुमिका निर्वाह गरेको रुसले चालेको यस कदमप्रति अजरबैजानले खुशी र अर्मेनियाले रोष प्रकट गरेको छ ।
यो सम्झौताले अजरबैजानको जीत र अर्मेनियाको हार भएको भन्दै अर्मेनियालीहरुले सम्झौताको बिरोधमा प्रदर्शन समेत गरेका छन् ।
प्रर्दशनकै क्रममा उनीहरुले सरकारी संरचनाहरु नष्ट गर्नुका साथै प्रधानमन्त्री निकोल पाशिन्यानको राजीनामा समेत माग गरेका छन् ।
यी दुई देशबीच भएको सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो–काराबाखका केही क्षेत्र आफूले नै राख्ने छ ।
त्यस्तै आगामी केही हप्ताभित्र अर्मेनिया त्यस क्षेत्रका केही भागबाट पछि हट्ने छ ।
अर्मेनियाली मूलका बासिन्दाको बसोबास रहेको नागोर्नो–काराबाख आधिकारिक रुपमा अजरबैजानको हिस्सा भए पनि १९९४ को युद्धपछि अर्मेनियाको कब्जामा छ ।
४ हजार ४ सय वर्गकिलोमिटर रहेको यो क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा अजरबैजानकै हिस्साका रुपमा मान्यता प्राप्त छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्