
काठमाडौं, कात्तिक २७ । काठमाडौंको कलंकीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
कलंकीमा रहेको मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरेर राखेको बा ३ ख ७५ ३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा एक जना घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराका अनुसार दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको छ ।
कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय विजय तामाङ घाइते भएका छन् ।
उनको उपचार जारी छ ।
दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्