६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रदेश १ मा संक्रमितको संख्या बढेसँगै विरामीलाई अक्सिजन पुर्‍याउनै मुस्किल


0
Shares

गोपाल पोखरेल (इमेज)
विराटनगर, कात्तिक २७ । प्रदेश १ मा अक्सिजन ग्यासको खपतमा अत्यधिक वृद्धि भएपछि उत्पादक कम्पनीहरुले बजारको माग धान्न सकेका छैनन् ।

कोरोना संक्रमितको संख्या बढेसँगै विरामीको श्वासप्रश्वास समस्या आउँदा प्रयोग हुने अक्सिजनको माग बढेको छ ।

खपतमा वृद्धि भएपछि अक्सिजनको माग पुर्ति गर्न उत्पादक कम्पनीहरुलाई सकस भएको हो ।

प्रदेश १ मा अक्सिजन ग्यासको खपतमा अध्यधिक वृद्धि भएपछि माग पुरा गर्न नसकेको अक्सिजन उत्पादक उद्योगहरुले जनाएका छन् ।

कोभिड महामारी अघि भन्दा तीन गुणाले माग बढेको उनीहरु बताउँछन् ।

पहिलेको तुलनामा अस्पतालहरुमा अक्सिजनको माग अत्यधिक बढेको हिमाल अक्सिजन प्रालीका व्यवस्थापक केदार श्रेष्ठ बताउनु हुन्छ ।

प्रदेश १ मा अक्सिजन उत्पादन गर्ने पाँच वटा कम्पनीहरु छन् ।

यी कम्पनीहरुले औसत रुपमा दैनिक करिब ४५ हजार सिलिण्डर अक्सिजन उत्पादन गरेर बजारमा पठाउँछन् ।

कम्पनीहरुले धेरै मात्रामा अक्सिजन उत्पादन गर्न सके पनि सिलिण्डरको अभावमा सिमित अक्सिजन उत्पादन गरेका हुन् ।

उपभोक्ताले खाली भएका सिलिण्डर फ्याक्ट्रीमा उपलब्ध गराउन ढिलो गर्दा समस्या भइरहेको छ ।

चीनबाट एक कन्टेनर सिलिण्डर मगाउन १ करोड ५० लाख रुपैयाँ पर्ने अक्सिजन उत्पादक बताउँछन् ।

उद्योगीहरुले केही अवधिका लागि अक्सिजन सिलिण्डर खरिद गर्न नसक्ने बताउँछन ।

सिलिण्डर थप्न नसक्दा अक्सिजन खोज्न आउनेलाई पनि अन्यत्र पठाउनु पर्ने अवस्था रहेको विनायक अक्सिजन प्रालिकी प्रवक्ताको भनाइ छ ।

कोरोना संक्रमित भएका सर्वसाधारणले घर–घरमा अक्सिजनका सिलिन्डर जोहो गर्न थालेपछि अक्सिजनको माग बढेको छ ।

कोरोना संक्रमितहरुले अक्सिजनलाई आफ्नो जिवनसंग जोडेर हेर्ने गरेका छन् ।

तर कोरोनाको महामारीले भयावह रुप लिएको बेला श्वासप्रश्वास समस्याको विरामी आउने क्रम बढेसँगै अक्सिजनको आवश्यकता बढेको कोशी अस्पताल इमरजेन्सी वार्डका चिकित्सक रघुनन्द अधिकारीको भनाइ छ ।

उद्योगीहरुले अक्सिजनका लागि नयाँ सिलिण्डर चीनबाट मगाउने गरेका छन् ।

सिलिण्डर मगाए पनि तीन चार महिना लाग्ने भएकाले उद्योगीहरुले त्यसतर्फ लगानी गरिरहेको पाइँदैन ।

तसर्थ घरमा थुपारेर राखेका अक्सिजनका सिलिण्डरहरु कम्पनीलाई बुझाएमा धेरैलाई मृत्युको मुखबाट फर्काउन सकिनेछ ।

भिडियो हेर्नुहोस्