
काठमाडौं, कात्तिक २७ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार बिहीबारदेखि (आज) शुरु हुँदैछ ।
बिहीबार (आज) बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ ।
यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
तिथिको घटबढका कारण यस्तो भएको उहाँले बताउनुभयो ।
कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।
अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते परेको छ ।
आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका गरिने छ ।
मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।
मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।
नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी निर्णय गरेका छन् ।
त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्