१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नाम र ठेगाना गलत टिपाउँदा संक्रमित खोज्नै समस्या


13
Shares

दुर्गा उपाध्याय (इमेज)
कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरमा व्यक्तिगत रुपमा कोरोनाको पीसीआर परीक्षण गर्ने क्रम बढेको छ ।

योसँगै संक्रमितको पहिचान गर्न पनि समस्या भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका कञ्चनपुरका एक व्यक्तिको दुई महिना पुग्दासमेत पहिचान खुल्न सकेको छैन ।

गत भदौमा कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको ठेगाना भीमदत्त नगरपालिका– ५ उल्लेख गरिएको छ ।

तर, उनको विवरण न त पालिकाले स्वाब लिएका व्यक्तिहरुको लिस्टमा छ, न त स्वास्थ्य कार्यालयको लिस्टमा नै छ ।

प्रहरी र स्थानीय प्रशासनले टोल टोलमा गएर खोज्दासमेत ती व्यक्तिको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

यस्तै गत शनिबार सेती प्रादेशिक अस्पतालले पालिकालाई पठाएको पत्रमा पनि दुई संक्रमितको ठेगाना फरक परेको छ ।

पछिल्लो समय अस्पतालले पठाएका संक्रमितहरुको लिस्टमा यसरी नाम, ठेगाना र सम्पर्क नम्बर फरक हुने तथा पहिचान नखुल्ने गरेको पाइएको छ ।

शुल्क तिरेर व्यक्तिगत रुपमा पीसिआर परीक्षण गर्न पाइने सरकारले ल्याएको प्रावधानले स्वास्थ्यकर्मीलाई संक्रमित पहिचान गर्न समस्या हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टको भनाइ छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि कतिपयले पहिचान लुकाउन ठेगाना नखुलाउने गरेको भेटिएको छ ।

समाजमा कोरोना संक्रमितलाई गरिने तुच्छ व्यवहारका कारण पनि स्वाब परीक्षण गराउँदा परिचय गलत दिने गरेको पाइएको छ ।

भीमदत्त नगरपालिकाका जनस्वास्थ्य अधिकृत नरेन्द्र जोशीले संक्रमित व्यक्तिहरुको पहिचान नखुल्ने दुई वटा कारण बताउनुहुन्छ ।

तीमध्ये एउटामा संक्रमितले गलत विवरण दिने गरेको र अर्को कहिलेकाँही अस्पतालबाट आउने संक्रमितको लिस्टमा एउटा जिल्ला वा पालिकाको मान्छेको नाम अर्को जिल्ला वा पालिकामा पर्ने गरेको छ ।

कञ्चनपुरमा संक्रमण पुष्टि भएका एक हजार एक सय ३२ जनामध्ये एक सय १४ जना एक्टिभ संक्रमित रहेका छन् ।

उनीहरुमध्ये अधिकांश होम आइसोलेशनमा बसेका छन् । तर आइसोलेसनमा बस्दा अपनाउनुपर्ने मापदण्ड भने पुरा गरेको देखिदैन् । न त यसबारे निगरानी हुन सकेको छ ।

आइसोलेसनमा बसाउनुअघि सरकारले जारी गरेको निर्देशिका अनुसारको मापदण्ड भए नभएको अनुगमन गर्नुपर्ने हुन्छ ।

तर पछिल्लो समय उनीहरुलाई फोनबाट सोध्ने बाहेक अन्य काम हुन नसकेको स्वास्थ्यकर्मी स्वीकार गर्छन ।

पछिल्लो समय होम आइसोलेसनमा बसेका संक्रमितहरु समुदायमा घुलमिल हुने र सामाजिक दुरीको ख्याल नगर्दा संक्रमणको जोखिम बढेको हो ।

भिडियो हेर्नुहोस्