
काठमाडौं, कत्तिक २७ । पर्यटकीय नगरी पोखराको फेवाताल छेवैमा रहेको रत्न मन्दिर दरबार र हिमागृहलाई प्रयोगमा ल्याउने प्रयास गरिए पनि सफल हुन नसकेको प्रदेश सरकारले जनाएको छ ।
तत्कालिन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा २०१३ सालमा निर्माण गरेको रत्न मन्दिर हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।
रत्न मन्दिरलाई व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने प्रयास नेपाल ट्रष्टले गरे पनि पोखराका पर्यटन व्यवसायीको विरोधपछि निर्णयबाट ट्रष्ट पछि हटेको थियो ।
हिमागृह र रत्नमन्दिर क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न ट्रष्टसँग आह्वान गरिएको तर लिज सम्झौतामा प्रयोग गर्न दिने समझदारी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बताउनुभयो ।
ट्रष्टको नाममा रहेका यस्ता क्षेत्र प्रयोगमा ल्याउन प्रदेश सरकारले प्राविधिक कार्यदल निर्माण गरी छलफल थालिएको पनि उहाँले जानकारी दिनुभयो ।
एक सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार क्षेत्र तत्कालिन राज परिवारले पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणको क्रममा बस्ने र आराम गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्