१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मल कारखाना खोल्नेदेखि कोरोना खोपका लागि कार्ययोजना स्वीकृतसम्मका मन्त्रिपरिषद निर्णय


0
Shares

Parbat gurung press meet

काठमाडौं, कात्तिक २७ । सरकारले देशभित्रै रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मुलुकभित्रै मल कारखाना खोल्ने निर्णय गरेको हो ।

सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार आयोजित नियमित पत्रकार समेलनमा रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको जानकारी गराउनुभयो ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा उद्योग र कृषि मन्त्री सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेर उद्योग स्थापनाबारे अध्ययन गरिने उहाँले जानकारी दिनुभयो ।

तत्कालका लागि भने जिटुजीबाट रासायनिक मल ल्याउने प्रक्रिया अगाडि बढाउन कृषि मन्त्रालयलाई निर्देशन दिइएको पनि गुरुङले जानकारी दिनुभयो ।

यसैगरी, सरकारले नेपालमा चिया खेतीको दिगो विकासका लागि अमेरिकी सरकारले दिने १७ करोड ५० लाख डलर सहायता स्वीकार्ने निर्णय गरेको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धी मापदण्ड स्वीकार्ने निर्णय गरेको सरकारले केही वस्तुमा कर घटाउने र केही स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

सरकारले पुस्तक आयातमा लागेको भन्सार कर खारेज गर्ने निर्णय गरे पनि यो प्रावधान भने विदेशी प्रकाशकले प्रकाशन गरेका पुस्तक आयातको हकमा मात्र लागू हुने छ ।

नेपाली प्रकाशकले विदेशमा पुस्तक प्रकाशन गरी नेपाल भित्र्याएमा भने १० प्रतिशत भन्सार महशुल लाग्ने साविकको व्यवस्था यथावत रहेको अर्थमन्त्रालयले स्पष्ट पारेको छ ।

कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा कोरानाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको सरकारले कात्तिकदेखि आउँदो चैतसम्म प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको आधा तलब भक्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गर्ने, सेती राजमार्गका लागि २३३ हेक्टर जमिन प्रयोग गर्न दिने र धरानमा २२० केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि अनुमति दिने निर्णय पनि गरिएको गुरुङले जानकारी दिनुभयो ।

यसैगरी, सरकारले राष्ट्रिय सेवा दल (एनसीसी) को कार्यकारी महानिर्देशकमा रघु भण्डारीलाई नियुक्त गरेको छ । यसैगरी मन्त्रिपरिषद बैठकले प्रमुख सेनानी मनोज थापासहित ५ जनाको बढुवा समेत गरेको छ ।