१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडनको सरकारमा श्रम मन्त्रालयको जिम्मेवारी लिन बर्नी स्याण्डर्स राजी


0
Shares

Us president election bernie sanders

एजेन्सी, कात्तिक २७ । अमेरिकी राष्ट्रपति बन्ने सपना साँचेर डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचनमा जो बाइडनसँग अन्तिमसम्म प्रतिष्पर्धा गर्नुभएका समाजवादी नेता बर्नी स्याण्डर्सले मन्त्री बन्ने इच्छा देखाउनुभएको छ ।

आगामी चार वर्षका लागि राष्ट्रपतिमा निर्वाचित बाइडनले श्रम मन्त्री बन्न प्रस्ताव गरेमा त्यसलाई सहजतापूर्वक स्वीकार्ने उहाँले बताउनुभएको सीएनएनलगायतका अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

३० वर्षदेखि अमेरिकी संसदमा रहनु भएका ७९ वर्षीय भर्मन्ट सिनेटर स्याण्डर्सले, सिनेटमा रहेर होस् वा बाइडन प्रशासनमा रहेर आफू मुलुकका कामकाजी परिवारको सुरक्षाका लागि सबैथोक गर्न तयार रहेको भन्दै ‘हेरौं आगामी दिनमा के हुन्छ’ भन्नुभयो ।

के तपाईं श्रम मन्त्री (लेबर सेक्रेटरी) को भूमिका स्वीकार्नु हुन्छ भन्ने प्रश्नमा स्याण्डर्सले कामकाजी परिवारको सम्पूर्ण सुरक्षाका लागि पक्कै पनि गर्दछु, भन्नुभयो ।

स्याण्डर्सले सन् २०१६ र सन् २०२० को राष्ट्रपति उम्मेदवार बन्न डेमोक्रेटिक पार्टीभित्रको प्राइमरीमा अभियान चलाउनुभएको थियो । तर दुबै पटक उहाँको प्रयास विफल भयो ।

चार वर्षअघि पार्टीको उम्मेदवारी हिलारी क्लिन्टनले जित्नुभयो भने यस पटक अन्तिमसम्म मैदानमा रहनुभएका उहाँले बाइडनलाई समर्थन गर्नुपरेको थियो ।

समाजवादी नीति र कार्यक्रमको वकालत गर्नुहुने स्याण्डर्सलाई अधिकतर युवा र परिवर्तनकामी मतदाताले समर्थन गरेका थिए ।