
एजेन्सी, कात्तिक २८ । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राजनीतिक तथा सैन्य विषयसँग जोडिएको इन्टलिजेन्स सूचना नदिएकामा रिपब्लिकनहरुले नै डोनल्ड ट्रम्पको आलोचना थालेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि इन्टलिजेन्स सूचना दिनुपर्ने संवैधानिक व्यवस्था भए पनि निर्वाचनमा पराजय स्वीकार नगरेका ट्रम्पले बाइडनलाई सूचनामा पहुँच नै नदिनु भएको हो ।
ह्वाइट हाउसले विदेशी राष्ट्राध्यक्षहरुबाट राष्ट्रपतिमा निर्वाचित बाइडनलाई प्राप्त बधाई सन्देशसम्ममा पहुँच दिएको छैन ।

डेमोक्र्याटले धाँधली गरेर निर्वाचन परिणाम चोरेको भन्दै अन्टसन्ट गालीगलौजमा उत्रिरहनुभएका ट्रम्प र उहाँको प्रशासनले आफू पराजित भएका राज्यहरुमा मुद्दा हालेका छन् ।
तर, ट्रम्पको यस शैलीको आपत्ति जनाउँदै रिपब्लिकन पार्टीका नेता र पूर्वराष्ट्रपतिहरुले बाइडनलाई धमाधम बधाई नै दिन थालेका छन् ।
पूर्वराष्ट्रपति जर्ज बुशले त निर्वाचन आधारभूत रुपमै निष्पक्ष रहेको भन्दै बाइडनलाई बधाई दिनुभएको छ र परिणाम स्वीकार्न ट्रम्पलाई आग्रह गर्नुभएको छ । बुश प्रशासनका वरिष्ठ सदस्यहरुले पनि यस्तै सल्लाह दिएका छन् ।

ओहायो, मेरिल्याण्ड, मासाचुसेट्सलगायत राज्यका गभर्नरहरुले पनि बाइडनलाई बधाई दिँदै परिणाम स्वीकार्दै शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण गर्न ट्रम्पलाई सल्लाह दिएका छन् ।
रिपब्लिकन सिनेट सदस्य एवं ट्रम्पका मुख्य सहयोगी मानिने साउन क्यारोलिनाका लिन्ड्से ग्राहमले गोप्य रुपमा राष्ट्रपतिलाई आउने पत्रमा बाइडनलाई पहुँच दिनैपर्ने प्रष्ट गर्नुभएको छ ।

यसैगरी, रिपब्लिकन पार्टीका वरिष्ठ नेता एवं युटा सिनेटर मिट रोम्नी, माइने सिनेटर सुसन कोलिन, अलास्का सिनेटर लिसा मर्कोवस्की, नेब्रास्का सिनेटर बेन सासे, ओक्लोहामा सिनेटर जाम्स ल्यान्कफोर्ड, आयोवा सिनेटर चक ग्रास्ले, साउथ डेकोटा सिनेटर जोन थुने, माइक राउण्डस्, ओहायो सिनेटर रोब पोर्टम्यान, मिसौरी सिनेटर जोस हावले, टेक्सस सिनेटर जोन कोर्नीलगायतले बाइडनलाई बधाई दिँदै तत्काल शक्ति हस्तान्तरणको प्रक्रिया थाल्न ट्रम्पलाई सुझाव दिनुभएको छ ।

उता, डेमोक्र्याटिक पार्टीका दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेटका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई वास्तविकता स्वीकार्न अपील गर्दै कोरोना भाइरसका कारण उत्पन्न संकटसँग जुध्न आह्वान गर्नुभएको छ ।
पेलोसीले राष्ट्रपति ट्रम्प र रिपब्लिकन दलले संकटलाई बेवास्ता गर्दै नचाहिँदा चुनावी विवाद निकालेर बेतुकको सर्कसमा संलग्न रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सर्कस बन्द गर र अमेरिकी जनतालाई साँच्चै मतलव हुने (उनीहरूको स्वास्थ्य र आर्थिक सुरक्षा जस्ता विषयमा) काम गर्न फर्क ।’
आर्थिक र स्वास्थ्य संकटलाई सल्टाउन डेमोक्र्याटिक दललाई सहयोग गर्न सिनेटर सुमरले रिपब्लिकनहरूसँग आग्रह गर्नुभयो ।
अमेरिका कोभिड १९ बाट संक्रमितको संख्या एक करोड नाघ्दा २ लाख ४२ हजार ५२७ जनाले मृत्युवरण गरेका छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्