१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं महानगरबाट मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग


0
Shares

काठमाडौं, कात्तिक २९ । विश्व मधुमेह दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षण लगायतका सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले राज्यले सेवा दिनुपर्ने वर्गलाई लक्षित गरि सेवा प्रदान गर्नेगरी भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो ।

महानगरपालिकाले विभिन्न सरकारी अस्पतालहरुलाई सहयोग गर्दै आइरहेको स्मरण गराउँदै आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जनताको सेवाका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

दिवसका अवशरमा १५ जना विशेषज्ञ चिकित्सकहरुबाट लिखित ‘मधुमेह’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

यस्तै मधुमेह रोग सम्बन्धि लघु चलचित्र पनि प्रदर्शन गरिएको छ ।

नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठले कोभिडबाट मधुमेहका रोगीहरु बढी प्रभावित भएकाले नियमित रुपमा मधुमेह सम्बन्धी विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न महानगरसँग आग्रह गर्नुभयो ।

वरिष्ठ मुटुरोग विशेषज्ञा डा. प्रकाशराज रेग्मीले मधुमेहको उपचार भनेर सुगर नियन्त्रण मात्रै हो भन्ने सोच परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले नसर्ने रोग भएपनि कोरोना महामारी भन्दा मधुमेह रोग बढी खतरनाक भएको बताउनुभयो ।

समाजले अहिले विशेषज्ञहरुबाट मधुमेह, थाइरोइड, मुटु, आँखा, हाड जोर्नी तथा इसिजी, इको लगायतका सेवाहरु न्यून शुल्कमा उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।