१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भाइटीकामा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउन सुझाव, फल चाहनेले यसरी लगाउनुपर्छ टीका


0
Shares

Tihar tika and good result

काठमाडौं, मंसिर १ । तिहारको मुख्य दिन आज । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिने गर्दछन् । उसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा रहेको छ ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई हार्दिक र दीगो बनाइराख्ने यस पर्वले हिन्दू धर्मावलम्बीहरुमा विशेष महत्व राख्दछ ।

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको तर दिदीबहिनीले दाजुभाइलाई जुनसुकै समयमा पनि टीका लगाइदिन हुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

भाइटीकामा सप्तरंगी टीका लगाउने उक्ति प्रचलनमा रहेको र अनेकन गीतसमेत बनेको भए पनि खासमा पञ्चरंगी टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।

भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

टीका लगाइसकेपछि सयपत्री, मखमली र गोदावरी फूलको माला, अनेकन परिकार र मिठाईले दाजुभाइलाई दिदीबहिनीले सत्कार गर्ने परम्परा रहेको छ । यसैगरी दाजुभाइले भने दिदीबहिनीलाई विभिन्न वस्त्र, दक्षिणा दिँदै एकार्काको दीर्घ जीवनको कामना गर्ने प्रचलन रहेको छ ।

त्यसो भए टीका लगाइमाग्ने र लगाउनेले कुन कुन दिशातर्फ कसरी लगाउँदा टीका लगाउँदाको फल पनि प्राप्त होला भन्ने जिज्ञासा आम मानिसमा हुनु स्वाभाविक हो ।

हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय मान्यता रहेकाले भाइटीका लगाउँदा पनि टीका थाप्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँतिर पार्नुपर्ने हुन्छ । त्यसैले टीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यसो गर्दा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । अहिले चन्द्रमा वृश्चिक राशी रहेको र यति बेला उत्तर दिशामा हुने भएकाले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्ने बताइएको हो ।