
काठमाडौं, मंसिर १ । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सोमबार भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ ।
गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले सोमबार सर्वसाधारणलाई भाइटीका लगाइदिएको हो ।
कोही पनि दाजुभाईको निधार खाली नहोस भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताउनुभयो ।
कोरोनाका कारण आफ्नो दिदिबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाईहरुलाई सोमबार भाइटीकाको दिन सप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएको पनि उहाँले बताउनुभयो ।
यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भएपनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाएका सर्वसाधारणहरु खुसी देखिएका छन् ।
लक डाउनपछि निरन्तर खाना खुवाइरहेको सो समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो ।
मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द गरेको हो ।
महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै सक्दो सहयोग गर्ने पनि बताएको छ ।
प्रतिक्रिया दिनुहोस्