१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायती प्रधानमन्त्री पुनः ‘आइसोलेसन’मा


0
Shares

काठमाडौं, मंसिर १ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बस्नु भएको छ ।

संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उहाँ सम्पर्कमा रहेकाले उहाँ सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उहाँका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्रीमा कुनै समस्या र लक्षणहरु नदेखिएको र स्वास्थ्य अवस्था राम्रो रहेको उहाँका प्रवक्ताले बताएका छन् ।

प्रधानमन्त्री जोनसनले यसअघि पनि लण्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात विताउनुभएको थियो ।

उहाँलाई गत अप्रिलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री जोनसोन झण्डै दश दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने जनाइएको छ ।

अहिले सङ्क्रमित भएका सांसदसँग प्रधानमन्त्री जोनसोनले झण्डै ३५ मिनेट बैठक गर्नुभएको थियो ।

सो बैठकमा अन्य केही सांसदहरू पनि सहभागी भएका थिए । (एजेन्सी)