
एजेन्सी, मंसिर १ । कोरोना भाइरसविरुद्धको नयाँ खोप ९५ प्रतिशत सुरक्षित रहेको दावी गरिएको छ ।
अमेरिकी कम्पनी मोडेर्नाका अनुसार नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
फाइजर कम्पनीले विकास गरेको खोपका नतिजा सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट ती खोपले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको हो ।
दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपको विकासमा एकदमै नयाँ खालको प्रयोग गरेको जनाएका छन् ।
मोडेर्नाले यसलाई ठूलो दिनको संज्ञा दिँदै अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ ।
यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएकामा आधालाई दुई पटक खोप लगाइएको थियो । बाँकीलाई डम्मी खोप (वास्तविक खोप होइन) लगाइएको थियो ।
पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो । ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएका थिए । बाँकी ९० जना डम्मी खोप दिइएकाहरू थिए ।
यो खोपले कोरोनाभाइरसबाट ९४.५ प्रतिशत सुरक्षा दिएको दाबी कम्पनीले गरेको बीबीसीले जनाएको छ ।
“समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ । यो ठूलो दिन हो,“ मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले बीबीसी न्यूजलाई भनेका छन् ।
खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको चाहिँ विवरणमा जनाइएको छ ।
मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने पनि जनाइएको छ ।
यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ ।
फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो ।
प्रतिक्रिया दिनुहोस्