२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दुई अध्यक्षको किचलोले नेकपा विवाद गम्भीर मोडमा, दाहाललाई मनाउन विष्णु पौडेलको दौड


0
Shares

ncp party president dispute

काठमाडौं, मंसिर २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको किचलो झन् बढेको छ । जसले पार्टी एकता नै गम्भीर मोडमा पुगेको छ ।

एकार्कालाई सत्तोसरापमा उत्रिएका प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री दाहालबीच संवादसमेत हुन सक्ने अवस्था नदेखिएपछि दोस्रो तहका नेताहरु समाधान खोज्न लागेका छन् ।

यस क्रममा मंगलबार दाहाललाई मनाउन महासचिव विष्णु पौडेल दाहाल निवास खुमलटार पुग्नुभयो । दुई नेताबीच पछिल्लो संकट कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको छ ।

साना समूहहरुसँगको भेटमा दुबै अध्यक्षले एकार्काको उछित्तो काँढेर आरोप लगाउने र सँगै हिंड्नसमेत नसक्ने अवस्था बताइरहेका बेला पौडेल दुबै नेतालाई मिलाउने प्रयासमा रहनुभएको हो ।

यसअघि पनि दोस्रा तहका नेताहरुले अध्यक्ष केपी ओली र दाहाललाई अलग अलग भेटेर एकापसमा देखिएको विवाद सुल्झाउन सुझाव दिइरहेका छन् ।

उनीहरुले विवाद अध्यक्षकै कारण आएकाले समाधान पनि दुबै नेताले मिलेर खोज्नुपर्ने बताउँदै आएका छन् ।

गत २७ गते बसेको सचिवालय बैठकमा दाहालले एकतर्फी रूपमा राजनीतिक प्रतिवेदन पेश गर्दै अर्का अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाएपछि ओली र उहाँपक्षीय नेताहरु क्रूद्ध बनेका छन् ।

दाहालले लगाएको आरोप फिर्ता नहुँदासम्म संवाद नै नहुने ओली पक्षीय नेताहरुले बताइरहेका बेला पौडेल ओलीको सन्देश लिएर खुमलटार पुग्नुभएको हो ।

प्रधानमन्त्री निकट मानिने नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, गोकेल बाँस्कोटा, सूर्य थापा लगायतले सार्वजनिक रूपमै दाहालले सचिवालयमा पेश गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने बताउँदै आउनु भएको छ ।

सचिवालय बैठक मंसिर ३ गते बुधबारका लागि बोलाइए पनि दुई अध्यक्षबीच बोलचाल नै नहुने अवस्था रहे बैठक स्थगित हुने अनुमान गरिएको छ ।